जो वाइडेनको विजयले नेपाली अमेरिकी खुशी

जो वाइडेनको विजयले नेपाली अमेरिकी खुशी

  • सोमवार, कार्तिक २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

वाशिङ्गटन डिसी, २४ कात्तिक । अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकी पनि छन् । खासगरी अमेरिकामा रहेका नेपालीले स्वास्थ्य बीमा, बन्दुक नियन्त्रण, न्यूनतम वेतनमा वृद्धि जस्ता विषयमा डेमोक्र्याट पार्टीको धारणासँग ऐक्यबद्धता जनाउँदै आएका छन् ।

सन् २०२० को चुनावमा यी विषय ओझेलमा पार्नेगरी कोरोना भाइरस र यसको नियन्त्रणमा आवश्यक रणनीति बनाउने विषयले प्रमुखता पाएको यथार्थ छ । “जो वाइडेनको विजयले हामी अमेरिकन नेपालीमा आशा र विश्वास निर्माण गराउन अभिप्रेरित गरेको छ”, वाइडेनको विजयपछि प्रतिक्रिया दिँदै मेरिल्याण्ड जनरल एसेम्ब्लीका डेलिगेट ह्यारी भण्डारीले भन्नुभयो, “अमेरिका सम्भावना र अवसरको भूमि हो भन्ने कुरा यो पटकको निर्वाचनले प्रमाणित गरेको छ ।”

भण्डारीले आप्रवासी अभिभावकबाट जन्मिनुभएका उपराष्ट्रपति कमला ह्यारिसको आगमनले हाम्रा बालबालिकालाई पनि प्रेरणा दिएको बताउनुभयो । भण्डारी स्वयं मेरिल्याण्डको जनरल एसेम्बलीमा निर्वाचित हुने पहिलो नेपाली हुनुहुन्छ ।

डेमोक्र्याट पार्टीका सिनेटरहरुले हाउसमा उत्पन्न गरेका टेम्पोरेरी प्रोक्टेड स्टाटस ९टिपीएस० बाहकहरुलाई ग्राीनकार्ड हुँदै नागरिकका लागि सहजीकरण गर्ने विधेयक कार्यान्वयन हुने विश्वास गरिएको छ । यसबाट करिब १० हजार नेपाली लाभान्वित हुनेछन् ।

अमेरिकामा कानून व्यवसायमा संलग्न खगेन्द्र जिसी प्रजातान्त्रिक विधि र प्रक्रियाबाट निर्वाचित कार्यकारीले विगतमा चालिएको कदम जनमतबाट अस्वीकार हुने प्रक्रिया सुन्दर पक्ष भएको टिप्पणी गर्नुहुन्छ । जिसीले कतिपय आप्रवासनसम्बन्धी कानूनको पुनरवलोकन गर्ने भनेर चुनावी अभियानमा भन्दै आएकाले कार्यकारी आदेश आउन सक्ने विश्वास व्यक्त गर्नुहुन्छ । खासरी टिपिएस, डाकाजस्ता कार्यक्रममा वाइडेन प्रशासनले लचिलो नीति अङ्गीकार गर्ने विश्वास लिइएको जिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्ला दिनमा आप्रवासनसम्बन्धी मुद्दामा विलम्ब हुने, कार्यकारी आदेशबाट रोकिने भएको थियो आगामी दिनमा त्यसमा सुधार हुने अपेक्षा राखेको छु ।”
अमेरिकामा राजनीतिक कर्ममा संलग्न रहेका हरि शर्माले वाइडेनको विजयले नेपाल अमेरिकाको सम्बन्धमा नयाँ उचाइ हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अमेरिकामा विविधताको विशेषता यो निर्वाचनले पुनःस्थापित गरेको प्रतिक्रिया दिनुभयो ।

अमेरिकाले ग्लोबलरुपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गर्दै अगाडि बढ्न नयाँ रणनीति अङ्गीकार हुने शर्मा बताउनुहुन्छ । अमेरिकामा रहेका नेपाली नयाँ प्रशासनले लिने स्वास्थ्य बीमाको नीति र कोभिड– १९ को नियन्त्रणमा चाल्ने कदमबाट लाभ लिनसक्ने विश्वास रहेको शर्माको भनाइ छ ।

अमेरिकामा व्यवसाय गर्दै आएका राधेश पण्डित वाइडेन र ह्यारिसको विजयले व्यवसायीमा उत्साह थपिएको प्रतिक्रिया दिनुहुन्छ । पण्डित भन्नुहुन्छ, “नवनिर्वाचित राष्ट्रपति वाइडेनले कोरोना भाइरसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुहुनेछ यसले लगानीकर्ताको मनोवल थप उँचो बनाउनेछ ।”

पण्डितको अनुभवमा यदि समयमा नै प्रभावकारी कदम चालिएको भए अमेरिका अहिले आर्थिक अवस्थाको पुनःस्थापनाको चरणमा प्रवेश गर्ने थियो । उहाँ सन् २००८ को वित्तीय सङ्कटका बेलामा ओवामा प्रशासनको मातहतमा रहेर वाइडेनले खेल्नुभएको भूमिकाको स्मरण गर्दै भन्नुहुन्छ, “अहिलेको घडीमा अमेरिकाले खोजेको र चाहेको व्यक्ति नै वाइडेन हो ।” पण्डितले कार्यकारी अधिकारलाई प्रभावकारी बनाउन वाइडेन र ह्यारिसको टिम समन्वय निकै राम्रो हुनेमा विश्वस्त रहेको बताउनुहुन्छ ।

अमेरिकामा रहेका नेपालीले खुद्रा व्यवसायमा राम्रो गर्दै आएका छन्, उनीहरु कोरोना भाइरसले ल्याएको सङ्कटलाई समाधान गर्न वाइडेन प्रशासन सफल हुनेमा विश्वस्त देखिन्छन् । अमेरिकाको ४६औँ राष्ट्रपति बन्नुभएको जो वाइडेनले आफ्नो अनौपचारिकरुपमा सोमबारदेखि कामको थालनी गर्नुहुने भएको छ । यसका लागि सोमबार १२ सदस्यीय एक विज्ञ टोली गठन गरेर कोरोना भाइरसको नियन्त्रणका लागि थप कदम चाल्नुहुने बताइएको छ ।

यसैगरी मौसम परिवर्तन जस्ता विषयमा कार्यभार सम्हाल्ने केही दिनमा नै कार्यकारी आदेश आउने घोषणा गरिएको छ । विगत २८ वर्षमा बहालवाला राष्ट्रपतिलाई पराजित गर्न सफल जो वाइडेनले यो आलेख तयार पार्दासम्म २७९ इलोक्ट्रोल मतसहित प्रत्यक्ष निर्वाचनमा सात करोड ५४ लाख नौ हजार ३१० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्ट्रोल मतसहित सात करोड ११ लाख २१ हजार २५३ मत प्राप्त गर्नुभएको छ । अझै पनि जर्जिया र एरिजोना राज्यको अन्तिम नतिजा आइसकेको छैन । नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले आगामी जनवरी २० बाट आफ्नो कार्यभार सम्हाल्नुहुनेछ । त्यस अगाडि शक्ति रुपान्तरण समूहमार्फत् विभिन्न काममा सहभागी हुनुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी