एजेन्सी असोज २४ । नागोर्नो काराबाख क्षेत्रको स्वामित्वलाई लिएर भीषण युद्ध गरीरहेका अर्मेनिया र अजरबैजानबीच अस्थायी युद्ध विराम गर्ने सम्झौता भएको छ ।
रुसको पहलमा मस्कोमा दुबै देशका प्रतिनिधिबीच शुक्रबार भएको लामो वार्ता पछि यो सहमति बनेको रुसी विदेश मन्त्रालयले जनाएको छ । रुसी विदेश मन्त्री सरगेई लावरोभले यो जानकारी दिएका हुन । शनिबार अपरान्हबाट लागू हुने युद्ध विराम पछि दुबै देशले युद्धमा मारिएका सेनाको शब लाने छन् भने युद्ध बन्दी साटासाट गर्नेछन् ।
दुबै देशका विदेशमन्त्रीबीच भएको वार्तामा संवाद जारी राख्ने पनि सहमति बनेको छ ।
दुई साता देखि जारी युद्धमा ३ सय भन्दा बढी मानिसको मृत्यु भएको छ भने हजारौँ घरबार बिहीन भएका छन ।
२७ सेप्टेम्बरबाट दुबै देशबीच युद्ध भएको थियो । दुबै देश पूर्व सोभियत संघका सदस्य राष्ट्रहरु हुन् । नागोर्नो काराबाख एक पहाडी क्षेत्र हो, जो सन् १९८४ को युद्ध पछि अर्मेनियाको कब्जामा रहेको छ ।