एजेन्सी भदौ ३० । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले लद्धाख सहित सीमा क्षेत्रमा चीनले भारी मात्रामा सैनिक टुकडी र गोलाबारुद्ध जम्मा पारेको भन्दै जवाफी कार्बाही गर्ने तयारी भारतले पनि गरेको दाबी गरेका छन् ।
आज भारतको लोकसभामा बोल्दै रक्षामन्त्री सिंहले लद्धाख, गोगरा, पेन्गोङ, कोगंका ला लगायतका क्षेत्रमा चीनको भारी तैनाथी रहेको बताए ।
शान्तिपूर्ण रुपमा सीमाको समस्या समाधान गर्न भारतले चाहेको र यो सन्देश दिएको भन्दै उनले दुबै देश शान्तिपूर्ण समाधान गर्न तयार रहेको र पछिल्लो पटक सम्झौता पनि भएको बताए ।
गत जुन १५ मा भएको हिंशामा चीनीया सेना तर्फ पनि भारी नोक्सान भएको रक्षा मन्त्री सिंहले दाबी गरे । गलवानको सो हिंशामा २० जना भारतीय सैनिक मारिएका थिए । चीन तर्फ भएको क्षति सार्वजनिक छैन ।
भारत र चीनबीच पछिल्लो सीमा विवाद अन्तराष्ट्रिय स्तरमा चासोका साथ हेरिएको छ ।
भारत र चीनबीच ३५ सय किलो मिटर लामो सिमा विवाद रहेको छ । सीमा विवादलाई लिएर दुबै देशबीच सन् १९६२ मा युद्ध भएको थियो । जसमा चीन हावी भएको थियो ।