काठमाडौं, १८ भदौ । गैर आवासीय नेपाली संघ मलेसियाले नियमित उडानको भाडा चार्टर्ड भन्दा महंगो भएको भन्दै घटाउन आग्रह गरेको छ।
गैर आवासीय नेपाली संघ मलेशियाले विज्ञप्ति जारी गर्दै नियमित उडान खोल्दा मलेसियामा रहेका नेपाली श्रमिकहरु सस्तो र सहज हिसाबले फर्किने वातावरण बनाउन पनि माग गरेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण जारी गरिएको लकडाउनले चैत ११ देखि बन्द भएका अन्तर्राष्ट्रियतर्फका नियमित उडान भदौ १७ गतेदेखि खोल्न सरकारले अनुमति दिएको छ। तर विगतमा गरिएका चार्टर्डभन्दा नियमित उडान खोल्दा नेपालीहरु सस्तो र सहज हिसाबले फर्किन पाउँछन् भन्ने विश्वासमा ठेस लागेको श्रमिकको गुनासो गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘चार्टर्ड उडानमा भाडा महंगो भएको तथा सीमित ट्राभल एजेन्सीले मात्र लाभ लिएको भन्ने विदेशमा रहेका आम नेपालीको गुनासो रहदै आएको छ । अब नियमित उडान सुरु भएपछि हवाई भाडा चार्टर्डभन्दा सस्तो पर्छ र स्वदेश फर्कन चाहने नेपालीहरुका लागि सहज हन्छ भन्ने हाम्रो अनुमान थियो । तर, नियमित उडानमा हवाई भाडा त चार गुणासम्म महंगो गरिएको छ ।’
कोभिड १९ का कारण रोजगार गुमाएर, समस्यामा परेर स्वदेश फर्कन चाहने नेपालीको संख्या दिनानुदिन बढिरहेको एनआरएन मलेसियाले जनाएको छ।
चाडपर्व आउनै लाग्दा विदेशबाट नेपाल जानेहरुको संख्या ह्वात्तै बढेकाे पनि जनाइएकाे छ । विज्ञप्तिमा भनिएको छ, ‘चार्टर्ड उडानबाट स्वदेश फर्कन नसकेका नेपालीहरुका लागि नियमित उडानको हवाई भाडा सस्तो बनाइनुपर्छ । स्वदेश फर्कन चाहनेहरुका लागि अवसर दिनुपर्छ।’
एनआरएन मलेसियाले सरकारले विदेशमा समस्यामा परेका वा बेखर्ची भएकाहरूलाई निःशुल्क उद्धार गर्ने घोषणा गरे पनि अझै प्रभावकारी कार्यान्वयन हुन सकेको धारणा राखेको छ। सरकारले छिटोभन्दा छिटो समस्यामा परेका नेपालीलाई निःशुल्क उद्धार गर्नुपर्ने एनआरएन मलेसियाको माग छ।
यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले तय गरेको भाडादर अनुसार उडान गराउन निर्देशन दिएको छ। मन्त्रालयले अन्य विदेशी एयरलाइन्सलाई निगमका उडान गन्तब्यमा निर्धारण गरिएको भाडादर अनुरुप उडान गराउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिन आग्रह गरेको हो।