भदौ १८ । रोग ठूलो कि भोक ? अहिले बेरोजगार नेपालीका लागि ठूलो पीडाको बिषय छ । कोरोना महामारी फैलन थाले पछि शुरुमा नाका बन्द हुँदा , यातायात बन्द हुँदा समेत हप्तौ सम्म हिँडेर भए पनि स्वदेश फर्किएका नेपाली युवाहरु फेरी महिनौको लकडाउन र खानै अभाव भए पछि पुनः भारततिर फर्कन थालेका छन ।
अहिले खास गरी सुदुर पश्चिम प्रदेशका कैलाली, कन्चनपुर लगायतका जिल्लाका नाकाहरुबाट नेपालीहरु धमाधम कोरोना सबै भन्दा बढी संक्रमित बनिरहेको भारततिरै फर्कन थालेको पाईएको छ ।
अहिले भारतको हिमाञ्चलमा स्याउ टिप्न नेपालीहरुको माग भईरहेकाले पनि हजारौ नेपाली त्यता जादैछन् भने पुरानै रोजगारीका क्षेत्रमा पनि नेपाली फर्कन थालेका छन ।
भारतमा दैनिक ७५ हजार कोरोना संक्रमितको संख्या पुगिरहेका बेला पनि नेपाली रोजगारी खोज्न भारत गईरहेका छन् । नाका सम्म भारतबाटै रोजगारदाता साहुहरुले पास बनाएर पठाउने गरेको उनीहरु बताउछन् । गौरीफन्टा लगायतका नाकाबाट हजारौ नेपालीहरु बाहिरीसकेको देखिएको छ ।
भारतमा लाखौँ नेपालीहरु रोजगारीका लागि रहेका छन् । अझै पनि केही नेपाली आउने क्रम जारी छ भने केही जाने क्रम ।
देशमा रोजगारी र गाँस, बासको सुनिश्चितता नहुँदा रोगले मरे उतै मरौला भन्दै नेपालीहरु भारत हान्निन थालेका छन् ।
विज्ञहरुले भने यस्तो महामारीका बेला समेत नेपाली उतै फर्कन बाध्य हुनु लाजमर्दो र जोखिमपूर्ण भएको बताएका छन् ।