वासिङटन, साउन ३१ । रुसले कोरोना बिरुद्धको भ्याक्सिन बनाएको सार्वजनिक गरे पछि अविस्वास गरेको अमेरीकाको धारणा उल्टिएको छ । अब कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरे ।
‘मलाई रुसले बनाएको भनिएको खोपकाबारेमा धेरै थाहा छैन । तर, त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ’– ट्रम्पले भने ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्नेक्रममा ट्रम्पले कोरोनाभाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुनेपनि बताए ।
‘मलाई जानकारी भएसम्म कोरोनाभाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ । यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु’–ट्रम्पले भने ।
आधारभूत प्रक्रियाहरु पूरा गर्ने र परीक्षण सबै सफल भएपछि आधिकारिक निकायले त्यसको प्रयोगका लागि स्वीकृति दिने उनको भनाइ छ ।
रुसले कोरोना बिरुद्धको भ्याक्सिन पहिलो पटक बनाएको बताउदै अब उत्पादन शुरु हुने जनाएको छ ।