पेरिस, १२ साउन । चीनसगँ सीमामा तनाब बढेको र पाकिस्तानसगँ सदैब तनाव कायम रहेका बेला भारतले फ्रान्सबाट अत्याधुनिक राफेल लडाकू बिमान ल्याउन शुरु गरेको छ । पहिलो चरणमा पाँच वटा लडाकू बिमान बुधबार भारतीय वायुसेनामा समाहित गर्ने कार्यक्रम छ ।
ती लडाकू बिमानहरु फ्रान्सको मेरिगन्याक हवाई अड्डाबाट उडेका थिए । ती बिमान भारततर्फ प्रस्थान गर्नुअघि फ्रान्सस्थित भारतीय राजदूतावासले गरेको ट्वीटमा भारतीय वायुसेवाको क्षमता विकासमा राफेल बिमानको सहभागिताले महत्वपूर्ण योगदान गर्ने बताइएको छ ।
फ्रान्सेली बिमानमा सात जना भारतीय पाइलटको समूह समेत सहभागी छ । उनीहरुलाई फ्रान्सस्थित डासल्ट एभिएसन कम्पनीमा तालिम समेत दिइएको थियो ।
भारतले सन् २०१६ मा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिरक्षा खरिदमा राफेल लडाकू बिमान समावेश थियो । निकै विवादबीच भारतको मोदी सरकारले ६० हजार करोड भारतीय रुपैयाँमा फ्रान्सबाट ३६ वटा लडाकू बिमान खरिद गरेको हो ।
नयाँ लडाकू बिमान जुलाई २९ का दिन भारतको अम्बाला आइपुग्ने छन् ।
लामो दूरीका मिटिओर हवाई क्षेप्यास्त्र र स्काल्प जडित यी बिमानले पाकिस्तान र चीनका विभिन्न स्थानमा अचुक निशाना लगाउन सक्ने रक्षा विशेषज्ञहरुको दाबी छ ।
यसले आणविक हतियार समेत प्रहार गर्न सक्ने क्षमता राख्छ । भारतले यो लडाकु विमान तत्कालै मोर्चामा सामेल गर्ने जनाएको छ ।