साउन ९ काठमाण्डौं । गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका–७ मल्मका लक्ष्मण सुनारको वाचा थियो केही कमाउने र छिट्टै घर फर्कने तर दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुप¥यो । धन कमाउन विदेशिएका उनी बाकसमा फर्किए ।
फागुन पहिलो साता साउदी अरब पुगेका ४२ वर्षीय सुनारको गत जेठ ११ मा निधन भयो । शव भने गत सोमबार मात्र आइपुग्यो । कोरोनाले निम्त्याएको बन्दाबन्दीका कारण शव ल्याउनै झण्डै दुई महिना लाग्यो । परिवारले अन्तिमपटक मुख हेर्ने धोको राखेपछि खर्चिलो र झण्झटिलो भए पनि सुनारको शव घरै ल्याइएको हो । मङ्गलबार अन्तिम संस्कार गरेपछि छोराहरु दिनेश र विनोद अहिले बुबाको किरियामा छन् ।
“म पनि भारतमा थिएँ, तीन÷चार वर्षदेखि बुबालाई भेट्न पाएको थिइँन, अब यत्तिकै भयो”, २१ वर्षीय दिनेशले भने, “हामी विदेश लागेपछि घरमा आमा र भाइमात्र थिए ।” १८ वर्षीय विनोद बीचमै पढाइ छाडेर घरमै बसेका छन् । आमा सीमा ज्यालादारी काम र घरधन्दा सम्हाल्छिन्। लक्ष्मणको कमाइका भरमा परिवार पालिएको थियो, मिठो–मसिनो पाक्थ्यो । घरको मुली मान्छे नै गुमाउनु परेपछि सुनार परिवारलाई अकल्पनीय बज्रपात भएको छ । जायजेथाले बिहान–बेलुकीको निर्वाहसम्म हुँदैन । “बुबा बितेर गए पनि हामी दुई भाइ छौँ अब केही गर्नुपर्ला, आमा र परिवारको भविष्य हाम्रो काँधमा आएको छ”, दिनेशले पीडा पोखे ।
दिनेश पनि रोजगारीका सिलसिलामा केही वर्षदेखि भारतमा रहेका थिए । बुवाको निधनको खबर पाएपछि बन्दाबन्दीबीच पनि उनी फिर्ता भएका थिए । लक्ष्मण रोजगारीका लागि शुरुमा कुवेत र त्यसपछि साउदी अरब पुगेका थिए । उनी पहिला देखि नै उच्च रक्तचापको बिरामी रहेका थिए ।
“एकदम सरल, कामकाजी हुनुहुन्थ्यो, गाउँमा सबैले चिन्थे, मान्थे”, वडाध्यक्ष टीकाबहादुर थापाले भने, “डोका, नाम्ला बुन्ने सीप पनि थियो ।” वडाध्यक्ष थापाले सम्पत्तिका नाममा घरबाहेक लक्ष्मणसँग केही नभएको बताए। दैनिक श्रम गरेर गुजारा गर्ने परिवार भएको उनको भनाइ छ । परिवारको आर्थिक स्थिति कमजोर देखेपछि जापानमा रहेका गलकोटेहरुले सहयोग गरेका छन् । घुम्टे युवा परिवार जापान शाखाले चलाएको सहयोग अभियानबाट रु छ लाख १७ हजार ६२० सङ्कलन भएको छ । सो रकम परिवारको लालनपालन र सुरक्षित भविष्यका लागि खर्च गरिने भएको छ ।
लक्ष्मणको निधनले दिएको चोट मत्थर हुन नपाउँदै सुनार परिवारमा थप अर्को पीडा थपिएको छ पहिरोको। सुनारको घर पहिराको जोखिममा परेको र घरैछेउबाट पहिरो खसेको वडा अध्यक्ष थापाले बताए । वडाले पहिरा रोकथाममा सुनार परिवारलाई सहयोग गरिने प्रतिवद्धता जनाएको छ ।
अहिले विदेशमा जाने धेरै युवाहरुको यसरी नै दुखदः मृत्यु हुने गरेको छ । दर्जनौको शब लकडाउनकै अवधिमा पनि आएको छ ।