८ साउन । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ७२० जना कोरोना भाइरस संक्रमित थपिएको भारतीय स्रोतले जनाएको छ । आज थपिएको संक्रमित सहित भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ३८ हजार ६३५ पुगेको छ ।
कोरोना भाइरस संक्रमणको कारण भारतमा एकैदिनमा १ हजार १२९ जनाको मृत्यु भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाको संख्या अहिलेसम्म २९ हजार ८६१ पुगेको अधिकारीले जानकारी दिएका छन् ।
भारतमा अहिले पनि ४ लाख २६ हजार १६७ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ८२ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र राज्यमा ३ लाख ३७ हजार ६०७ जना सङ्क्रमित भएका छन् ।
त्यसपछि तमिलनाडुमा १ लाख ८६ हजार ४९२ संक्रमित रहेका छन् । राजधानीसमेत रहेको दिल्ली प्रदेशमा १ लाख २६ हजार ३२३ कोरोना भाइरस सङ्क्रमित रहेका छन् ।