विराटनगर असार ९ । अष्ट्रेलियामा ८५ वर्षीया एक बृद्धालाई ठगी गरेको आरोपमा विराटनगरका २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुस भट्टराईलाई पश्चिमी सिड्नीबाट पक्राउ गरेको छ ।
पक्राउ परेका दुईजना नेपालीलाई त्यहाँको कानुन अनुसार ढाटछल गरेर पैसा असुल गरेको अभियोगमा पाँचौं तह र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो तहको मुद्दा लगाएको छ ।
उनीहरुमध्ये नेहा एकवर्ष अगाडी मात्रै अष्ट्रेलिया गएकी हुन् । पक्राउ परेका आयुसका दिदीहरु सहित गिरी बस्दै आएकी परिवारिक स्रोतले जनाएको छ ।
अष्ट्रलियाको नाइन न्यूज सिड्नी समाचारले जनाएअनुसार ठगीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने भन्दै कल गरिएको थियो । फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनिएको थियो ।
उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेपछि शंका लागेर पैसा बुझाएर वृद्धा प्रहरीमा गएकी थिइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए ।
त्यसपछि प्रहरीले बृद्धाको घरमा पैसा लिन पुगेका गिरी र भट्टराईलाई पक्राउ गरेको थियो । दुवैलाई मंगलबार ९आज० पारामट्टा अदालतमा उपस्थित गराइएको थियो । विराटनगरमा रहेका परिवारका सदस्यले जानकारी गराए अनुसार अदालतले पनि जमानतमा छाड्न मानेको छैन । अगष्ट २० मा उनीहरु बिरुद्ध अर्को सुनुवाई हुने जनाईएको छ ।