असार ८ एजेन्सी । चीन र भारतबीच सीमामा तनाब बढीरहेको र युद्धको तयारी भईरहेका बेला चीनका केही सैन्य विज्ञहरुले भारतले चीन विरुद्ध युद्ध गर्न नसक्ने दाबी गरेका छन् ।
ग्लोवल टाईम्समा प्रकाशित रिपोर्ट अनुसार चीनको अहिलेको प्राथमिकता भारतसगँको तनाव भन्दा पनि ताईवानको एकीकरण भएकाले बोर्डरमा कम ध्यान दिएको भन्दै उनीहरुले यदी वास्तविक रुपमा भारतसगँ तनाव उत्पन्न भए भारतले सन् १९६२ मा भन्दा अझ हालत खराब हुने चेतावनी दिएका छन् ।
फुदान विश्व विद्यालयको साउथ एशिया अध्ययन केन्द्रका प्रोफेसर लि मिन वाङले जुन १५ मा गलवान उपत्यकामा भएको झडप पछि प्रधानमन्त्री नरेन्द्र मोदीले कोही पनि भारतीय सीमामा नछिरेको र सेनाको पोष्ट कब्जा नगरेको बताउनुले तनाव कम गर्न सहयोग पुग्ने बताए ।
बेईजिङका सैन्य विशेषज्ञ वेई दोङछुले केवल सैन्य मात्र हैन, समग्र र अन्तराष्ट्रिय स्तरमा चीन भारत भन्दा धेरै माथि रहेको दाबी गरे । उनले भारत भित्र राष्ट्रवाद र चीन विरोधी भाबना नियन्त्रण नगरी चीन विरुद्ध अप्रेसन गर्नेतिर दवाव बने पनि भारतको नीति निर्माता र सैन्य कमाण्डरहरुलाई चीन कति शक्तिशाली छ भन्ने कुरा जानकारी भएको दाबी गर्दै भने“त्यसैले उनीहरु केही कडा शब्द बोल्न सक्छन्, तर हामी बिरुद्ध पहिलो फायर गर्ने आट गर्ने छैनन्” ।
उनले भारतको तुलनामा चीनको सेना अनुशासित, सिस्टमेटिक र ट्याक्टिकल रहेको भन्दै भारतले विभिन्न देशबाट ल्याएका हतियारको समन्वय उत्कृष्ट नदेखिएको पनि टिप्पणी गरे ।
उनले आफ्नो सार्वभौम क्षेत्रको रक्षा गर्न चीन सदैब सक्षम रहेको भन्दै भारतीय भूमिमा दाबी नगर्ने तर यदी युद्ध भएमा त्यसले भारतलाई झन समस्यातिर लैजाने र आर्थिक रुपले समेत भारत दशकौ पछाडी धकेलिने उनले बताए ।
बोर्डरमा जुन १५ मा कर्णेल सहित २० भारतीय सेना मारिए पछि सीमामा भारतले सेना, युद्धक विमान र हतियारहरु केन्द्रीत गरीरहेको छ भने चीनले पनि युद्धअभ्यास र आवस्यक प्रत्याक्रमणको तयारी गरीरहेको छ ।