न्यूयोर्क जेष्ठ १८ । गैर आवासीय नेपाली संघ अमेरीका राष्ट्रिय समन्वय परिषद्ले अमेरीकामा रहेका नेपालीहरु अहिले महामारीको अवस्थामा कसरी चलिरहेका छन् ? यस पछि पनि रोजगार व्यवस्थापन र जीवन स्तर उकास्न मद्धत पुर्याउने उदेस्यले अभियान शुरु गरेको छ ।
जस अनुसार परिषद् अन्तर्गत संघका सल्लाहकार सञ्जय थापाको अध्यक्षतामा गठित एजुकेसन एण्ड स्कील ईनह्याण्ड्मेन्ट कमिटिले आजबाट प्रारम्भिक काम शुरु गरेको छ । यस अन्तर्गत अमेरीकामा सरकारको नीति र प्रावधानहरु कस्ता छन् ? प्रणाली कस्तो छ ? कुन ठाँउमा कस्तो रोजगारी प्राप्त गर्न सकिन्छ भनेर सूचना आदान प्रदान गर्ने , भर्खरै अमेरीका आउनेहरुका लागि सीप विकास जानकारी दिएर सहयोग गर्नका लागि यो अभियान थालिएको अध्यक्ष सञ्जय थापाले जानकारी दिएका छन् ।
यस अन्तर्गत आज पहिलो भर्चुअल अन्तरक्रिया कार्यक्रम भएको छ । यो अन्तरक्रिया पहिलो भएको थापाले बताए ।
अन्तरक्रियामा संघका अमेरीकाका अध्यक्ष सुनील शाहले नेपालीहरु अमेरीकामा पहिलो जेनेरेसन भएको , सिस्टम कतिपय अवस्थामा थाहा नभएको र सीपको सही सदुपयोग नभएको र श्रम बजारमा प्रतिस्पर्धा गर्न गाह्रो परेकाले यो अभियान मार्फत एनआरएनले नेपालीहरुलाई मद्धत पुर्याउने प्रयास गरेको बताए ।
यसै गरी कमिटिका सल्लाहकार कमल शर्माले कतिपय सूचना हराएर, कतिपय कर विवरणहरु स्पष्ट नहुदा अहिलेको महामारीका समयमा समेत केही नेपालीले राहत पाउन नसकेको गुनासो आएकाले अहिले एनआरएनले हेल्प डेस्क स्थापना गरेर सहयोग गर्ने प्रयास गरिरहेको बताए ।

यसै गरी अन्तरक्रियामा सहभागी डा. टिका लम्सालले अहिले कोविड १९ को महामरीका कारण कतिपय नेपालीको रोजगारी गुमेको र कतिपय नयाँ अवसर देखा परीरहेको भन्दै नयाँ कामको निम्ती आफूलाई तयार पार्न लागि पर्नु पर्ने र यो समितिको अभियान उपयोगी हुने बताए ।

समितिका अध्यक्ष थापाले आफूहरुले राज्य तथा स्थानीय सरकारहरुसगँ समन्वय गरेर सूचना संकलन गरेर सीप तथा क्षमता अभिवृद्धि गरेर प्रतिस्पर्धी बनाउने, नेपालीको आर्थिक स्थिति र जीवन स्तर उठाउनका लागि नै यो अभियान चलाएकाले अमेरीकामा रहने सबै नेपालीले सम्पर्क गरेर सहकार्य गर्न सकिने बताए ।