एजेन्सी, ११ जेठ । पाकिस्तानी एयरलाइन्सको विमान एयरबस ए ३२० शुक्रबार कराँची एयरपोर्ट नजिकै आवासीय इलाकामा दुर्घटनाग्रस्त भयाे । पाकिस्तानी स्वास्थ्य अधिकारीका अनुसार दुर्घटनामा ९७ व्यक्ति मारिएको पुष्टि भएको छ ।
विमान दुर्घटना हुनुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर स्थानीय मिडिया अनुसार विमान चालकले एकपटक अवतरणमा असफल भएपछि विमानमा प्राविधिक गडबडी आएको सुचना दिएका थिए । त्यसपछि विमान दुर्घटना हुनु ठिक अघि विपत्तिको संकेत शब्दमा ‘मे डे – मे डे’ भनेका थिए ।
साेहि विमानमा यात्रा गरिरहेका मुहम्मद जुबैर दुर्घटनामा बाँच्न सफल व्यक्ति हुन् । विमान दुर्घटनामा बाँच्न सफल भएपछि उनले आफ्नो अनुभव साझा गरेका छन् ।
फ्लाइट पीके८३०३ ईदको ठ्याक्कै अघि लाहोरबाट उडेर ९१ यात्रीसहित लाहोर फर्किरहेको थियो । उक्त विमानमा थुप्रै परिवारका सदस्य सवार थिए ।
यो विमानले दिउँसो साढे दुई बजे कराँचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कोसिस गरिरहेका बेला यो दुर्घटनाग्रस्त भयो ।
सामान्य चोटसहित बाँच्न सफल जुबैका अनुसार विमानले एकपटक अवतरण गर्ने कोसिस गरेको र त्यसको १०–१५ मिनेटपछि यो दुर्घटनाग्रस्त भएको हो ।
उनी भन्छन्, ‘विमान दुर्घटनाग्रस्त हुँदैछ भन्ने कसैलाई पनि थाहा थिएन । सबै मानिसहरु विमानमा निकै आरामका साथ उडिरहेका थिए ।’
दुर्घटनापछि जुबैर बेहोस भएका थिए । जुबैरले भनेका छन्, ‘जब मलाई होस आयो तब मैले चारैतिर चिच्याहट सुनिरहेको थिएँ । बच्चाहरु र वयस्क चिच्याइरहेका थिए । मैले आगोमात्र देखिरहेको थिएँ । त्यहाँ कोही व्यक्ति देखिनँ । ’
‘मैले एउटा सिट बेल्ट खोलेँ र मैले एउटा प्रकाश देखेँ । त्यसपछि म उक्त प्रकाशतिर भागेँ । मैले एक सुरक्षित स्थानमा पुग्नका लागि दस फिटको उचाइबाट हाम फाल्नुपर्यो ।’
कसरी भयो यो दुर्घटना ?
लाहोरबाट उडेर कराँची पुग्नै लाग्दा विमानस्थलमा अवतरण गर्नु ठिक अघि यो विमान आवासीय इलाका जिन्ना गार्डन मोडल कोलोनीमा खसेको थियो जुन एयर पोर्टभन्दा ३.२ किलोमिटर मात्रै टाढा छ ।
दुर्घटना हुनु ठिक अघि विमानका चालकले इन्जिन खराब भएको र विपत्तिको संकेतमा ‘मे डे’ शब्द उच्चारण गरेका थिए ।
पीआईएका मुख्य कार्यकारी अधिकारी एयर भाइस मार्शल अरशद मलिकले दुर्घटनालगत्तै पाइलटले ट्राफिक कन्ट्रोललाई विमानमा प्राविधिक समस्या आएको सूचना दिएको जानकारी दिए ।
पाकिस्तानको समाचार च्यानल दुनियाँ न्यूजले पाइलट र ट्राफिक कन्ट्रोलबीच भएको कुराकानीको रेकर्ड आफूसँग भएको दाबी गरेको छ ।
यो रेकर्डिङ मनिटरिङ वेबसाइट liveatc.net मा पनि पोस्ट गरिएको छ । उक्त रेकर्डिङमा पाइलट भन्छन्, ‘विमानका दुई इन्जिनले काम गर्न बन्द गरेको छ…. मे डे… मे डे ।’
चारवटा घर पूर्ण रुपमा ध्वस्त, यसाे भन्छन् प्रत्यक्षदर्शी
उक्त दुर्घटनाका प्रत्यक्षदर्शी उजैर खानले एक ठूलो विस्फोटको आवाज सुनेर के भयो भनेर बाहिर दौडिएको बताए ।
उनले भने, ‘चारवटा घर पूर्ण रुपमा ध्वस्त भएका थिए । त्यहाँ ठूलो आगलागी भएको थियो र धुँवा आएको थियो । उनीहरु मेरा छिमेकी हुन् । म तपाईंलाई बताउन सक्दिनँ कि यो कति खतरनाक घटना थियो ।’
घटनास्थल नजिकै बस्ने डा. कंवल नाजिमले ठूलो आवाज आएपछि उनी घर बाहिर गएको र मस्जिद पछाडि कालो धुँवा निस्किरहेको देखेको उनले बताइन् ।
डा. नाजिमले उनको घर दुर्घटना स्थलभन्दा निकै नजिक भएको र आफूले मानिसहरु चिच्याइरहेको सुनेको बताइन् ।
उक्त दुर्घटनामा जफर मसूद पनि बाँच्न सफल भएका छन् ।
मसूद बैंक अफ पंजाबका अध्यक्ष हुन् जसलाई गुलशन–ए–जौहर अस्पतालमा भर्ना गरिएको थियो । -बीबीसीबाट