जेष्ठ १० इस्लामाबाद । पाकिस्तानको लाहोरबाट उडेको यात्रुबाहक विमान कराचीस्थित विमानस्थल बाहिरको मोडेल आवासीय क्षेत्रमा भएको दुर्घटनामा परेका मध्य अहिले सम्म ९७ जनाको मृत्यु भएको पुष्टी भएको छ । कम्तीमा २ जनाको जीवितै उद्धार भएको छ । विमानमा ९१ जना यात्रु र चालक दलका ८ सदस्य थिए ।
यद्यपि, मृत्यु हुनेको संख्या अझ बढी रहेको जनाइएको छ । सिन्ध प्रान्तका सूचनामन्त्री नासिर हुसेन शाहले दुर्घटनामा कम्तीमा २ जना यात्रु बच्न सफल भएको बताएका छन् । उनीहरुको अहिले उपचार भईरहेको छ ।
विमानमा पन्जाब बैंकका अध्यक्ष जफार मसुद र २४ न्युज टेलिभिजनका कार्यक्रम निर्देशक रहेको थिए । मसुदको परिवारका सदस्यहरुले उनीको अस्पतालमा उपचार भइरहेको जनाएका छन् ।
ए–३२० विमान कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलभन्दा नजिकै आवासीय क्षेत्र मोडेल कोलोनीमा खसेको हो ।
अधिकारीहरुका अनुसार लाहोरबाट कराचीका लागि उडेको पाकिस्तान इन्टरनेसनल एयरलान्इन्सको विमान दुवै इन्जिन फेल भएपछि दुर्घटना भएको हो । ‘हामी सिधै आउने प्रयास गर्दै छौं सर । हामीले दुवै इन्जिन गुमायौं,’ एयर ट्राफिक कन्ट्रोलसँगको कुराकानीमा विमानका क्याप्टेनले भनेका थिए ।
अधिकारीहरुका अनुसार इन्जिन फेल भएलगत्तै चालकले विमानलाई रनवेमा लैजाने प्रयास गरेका थिए । तर विमानस्थलबाहिरका मोबाईल टावर र भवनमा ठोक्किएर ध्वस्त भएको थियो ।
‘विमान पहिले मोबाइल टावरमा ठोकियो र त्यसपछि घरहरुमाथि खस्यो,’ प्रत्यक्षदर्शी सकिल अहमदले समाचार संस्था रोयटर्ससँग भने । दुर्घटनास्थलका ‘कम्तीमा ४ वटा घर पूर्णरूपमा ध्वस्त भएका छन् ।
अधिकारीहरुका अनुसार आवासीय क्षेत्रका करिब ३० जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । ‘
पाकिस्तानी प्रधानभमन्त्री ईमरान खानले घटनाप्रति दुखः व्यक्त गर्दै छानविन गर्न निर्देशन दिएका छन् ।