वैशाख २३, काठमाडौँ । साउदी सरकारले कोरोना महामारीलाई देखाएर रोजगारदाताले कामदारलाई तत्काल रोजगारबाट निकाल्न नपाउने नयाँ निर्देशीका जारी गरेको छ ।
साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतका अनुसार मानव संशाधन तथा सामाजिक मन्त्रालयले आगामी ६ महिनासम्म कामदारको सहमतिविपरीत रोजगारबाट निकाल्न नपाइने नीति ल्याएको हो । कामको समय घटेको खण्डमा भने रोजगारदाताले कूल तलबको ४० प्रतिशतसम्म तलबमा कमी गर्न पाइनेछ ।
यो नीतिले जबरजस्ती कामबाट निकाल्ने कार्य रोकीने उहाँले बताउनु भयो । साउदीबाट धेरैको रोजगार खोसिने सम्भावना बढिरहेको बेला साउदीको नयाँ नीतिले ठूलो राहत मिलेको छ ।
‘करार अवधि समाप्त भइसकेका वा हुनेको हकमा रोजगारदाता र कामदारबीचको आपसी सहमतिमा हुने कुरा भयो । अब एकतर्फी रुपमा करारपत्र रद्द हुने अवस्थालाई भने सम्बोधन गरेको देखिन्छ’, उहाँले भन्नुभयो ।
साउदीले दैनिक ८ घन्टा काम दिन नसक्ने कम्पनीले भने अवस्था हेरेर ६ महिनासम्मको लागि कूल तलबको ४० प्रतिशतसम्म कमी गरेर तलब दिन पाइनेछ । हाल कटौती भएको तलब भने ६ महिनापछि भुक्तानी गर्नुपर्नेछ’, उहाँले भन्नुभयो ।
सरकारले कामदारलाई आवश्यकता हेरेर वार्षिक बिदा दिन सक्ने र कामदारले पनि आफू बेतलबी बिदामा बस्न सक्ने प्रावधान ल्याएको छ ।
साउदीले निजी क्षेत्रमा काम गर्ने आफ्ना नागरिकको गत अप्रिलदेखि जुनसम्मको तलब सरकारले नै व्यहोर्ने नीति यसअघि नै घोषणा गरेको थियो । तर, सबै विदेशी कामदारको हकमा भने कुनै राहत ल्याएको छैन । विशेष क्षेत्रमा काम गर्ने विदेशी कामदारको लागि १० देखि १५ प्रतिशतसम्म तलब भुक्तानी गर्ने भनिएको छ ।
साउदीमा ३ लाख ५० हजार नेपाली कामदार कार्यरत छन् । दूतावासका अनुसार सबै नेपाली कामदारहरु प्रभावित भइसकेका छैनन् । काम नहुने र तलब नपाउने केही कामदारको समस्याहरु दूतावासको जानकारीमा रहेको राजपुतले बताउनुभयो ।
ठूला कम्पनीहरु तत्काल कामदार कटौती गरेर कामदारलाई पठाइहाल्ने पक्षमा नदेखिएको उहाँले बताउनु भयो ।