एजेन्सी बैशाख ९ । कोरोना संकटले उत्पन्न लकडाउन, अन्तराष्ट्रिय व्यापार र कारोबार एवं उद्योग धन्दाहरु लगभग बन्द भए पछि विश्वबजारमा कच्चा तेलको मुल्यमा फेरी ठूलो गिरावट आएको छ ।
सोमबार अमेरीकी कच्चा तेल ईतिहासमै पहिलो पटक जिरो बिन्दु भन्दा तल झरेको छ । तेलको मागमा आएको कमी र स्टोरेजको अभावका कारण मुल्य संकट पैदा भएको जनाईएको छ ।
अमेरीकी तेलको बेन्चमार्क मानिने वेष्ट टेक्सस ईन्टरमिडियट मा तेलको मुल्य झरेर माईनस ३७.६३ डलर पुगेको छ । यो भनेको सबै भन्दा खराब स्थिति हो ।
अमेरीकामा माग घटेको र स्टोरेज सुविधा कम हुन थाले पछि तेल उत्पादक तथा व्यापारीहरु चिन्तित बनेका छन् ।
अन्तराष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मुल्य घटेर प्रति व्यारेल २६ डलर भएको छ । यो भनेको एकै दिन अन्तराष्ट्रिय बजारमा ८ दशमलव ९ प्रतिशतको गिरावट हो ।
यसै महिनाको शुरुवातमा तेल उत्पादक राष्ट्रहरुको साझा संगठन ओपेकले तेलको उत्पादनमा १० प्रतिशतले कटौती गर्ने समझदारी गरेका थिए ।
एक अध्ययन अनुसार विश्वमा उत्पादनको प्रतिस्पर्धाले गर्दा तेलको माग भन्दा स्टोरेज धेरै भएको समेत देखिएको छ ।