एजेन्सी बैशाख ६ । भारतको राजधानी दिल्लीमा कोरोनाको उपचार गरीरहेका एक जना डाक्टरले आत्महत्या गरेका छन् । डा. राजेन्द्र सिंहले आज बिहान घरको छतमा डोरीले पासो लागेर आत्महत्या गरेका हुन् ।
प्रहरीले फेला पारेको डा. सिंहको सुईसाईड नोटका आधारमा दिल्लीमा सरकार चलाईरहेको आम आदमी पार्टीका विधायक प्रकाश जारवाल लगायतका विरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दायर गरेको छ । स्थानीय समय अनुसार आज बिहान साढे ५ बजे उनले आत्महत्या गरेका थिए ।
विधायक जारवाल लगायतले जबरजस्ती पैसा मागेको बताईएको छ । डा. सिंहले सापटी लिएको रकम करीब एक करोड बढी उनीहरुले मागेको बताईएको छ । ती डाक्टरमाथि विधायक प्रकाशले धम्की दिएको अडियो प्रहरीलाई परिवारले बुझाएको छ । सुईसाईड नोटमा पनि डा. सिंहले विधायकमाथि विभिन्न आरोप लगाएका छन् ।
डा. सिंहका छोरा हेमन्तका अनुसार उनी क्लिनीक चलाउथे र पानीको सप्लाई पसल पनि सञ्चालन गर्दै थिए ।