एजेन्सी चैत्र २३ । विश्वमा कोरोना संक्रमण तीव्र बनेका बेला फेस मास्क त्यसमा पनि निर्धारीत गुणस्तरको मास्कको अभाव छ ।
विश्व बजारमा देखिएको अभावसँगै विभिन्न देशले मास्क, पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) तथा अन्य मेडिकल उपकरणको व्यापारमा बेइमानी भएको बताएका छन् ।
जर्मनीले आफ्नो देश ल्याउन लागिएका २ लाख मास्क लगेको भन्दै अमेरिकामाथि ‘आधुनिक डकैती’ गरेको र षड्यन्त्र भएको टिप्पणी गरेको छ ।
जर्मनी लैजान लागिएका मास्क अमेरिकामा निर्मित हुन् । बर्लिनस्थित एक स्थानीय सरकारले मगाएका ‘एफएफपी–२’ मास्क बैंककमा जफत गरिएको हो । ती मास्क बर्लिनको प्रहरीका निम्ति मगाइएको बताइएको छ ।
चीनका वुहानबाट फैलिएको भाइरसबाट युरोपेली देश र अमेरिका अति प्रभावित छन् । बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क अमेरिकातर्फ लगिएको दाबी गरे ।
कोरियाली युद्धताका निर्मित कानुनको उपयोग गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो देशका उत्पादन अन्य देशमा निर्यात गर्न प्रतिबन्ध लगाएपछि मास्क निर्माता अमेरिकी कम्पनी थ्री एम उक्त कदम चाल्न बाध्य भएको जनाइएको छ ।
गत शुक्रबार सात हजार बढी अमेरीकीको मृत्यु भए पछि ट्रम्पले मास्क, पिपिई निर्यातमा प्रतिवन्ध लगाएका थिए ।
ट्रम्पले ‘डिफेन्स प्रोडक्सन एक्ट’ नामक कानुन लागू गर्दै मेडिकल सामग्रीको उत्पादन तथा आपूर्ति गर्ने अमेरिकी कम्पनीलाई घरेलु माग धान्न बाध्य पारेका थिए ।
ट्रम्पले करिब २ लाख ‘एन–९५’ मास्क, १ लाख ३० हजार सर्जिकल मास्क तथा ६ लाख पन्जा अमेरिकी अधिकारीहरूले जफत गरेका बताए । यद्यपि, राष्ट्रपति ट्रम्पले ती कहाँ र कसरी जफत गरिएका हुन् भन्ने खुलाएनन् ।
जर्मनमन्त्री गिजेलले त्यसरी बर्लिन ल्याउन लागिएका मास्क अन्यत्र लगिनु ‘आधुनिक डकैती’ भएको बताउँदै ट्रम्प प्रशासनलाई व्यापारका नियम मान्न सुझाव दिएका छन् । ‘एटलान्टिक पारिका आफ्ना साझेदारहरूसँग व्यवहार गर्ने यो उपयुक्त शैली होइन । विश्वव्यापी संकटकै बेला यस्ता जबरजस्ती गरिनु झन् उचित होइन,’ उनले भने ।
जर्मनीमा झण्डै एक लाख कोरोना संक्रमित पुगिसकेका छन् ।