२१ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।
चीनको वुहानबाट डिसेम्बरको अन्तिम सातादेखि फैलिएको कोरोनोबाट हालसम्म ५० हजार २ सय ३० जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
कोरोनाबाट सबैभन्दा ठूलो मानवीय क्षति इटलीमा पुगको छ । प्राप्त पछिल्लो विवरणअनुसार, त्यहाँका १३ हजार ९ सय १५ को मृत्यु भएको छ ।
विश्वव्यापी महामारीको रूप लिएको कोरोनाबाट इटलीपछि स्पेनमा धेरै मृत्यु भएको छ । त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ९ सय ५० को मृत्यु भएपछि स्पेनमा ज्यान गुमाउनेको संख्या १० हजार ३ पुगेको हो ।
स्पेनको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले १० हजार ३ मानिसको मृत्यु भएको जनाएको छ । यो संख्या इटलीपछिको सबैभन्दा धेरै हो ।
मृत्युदरसँगै स्पेनमा कोरोना संक्रमितको संख्या पनि बढ्दो क्रममा छ । बीबीसीका अनुसार संक्रमितको संख्या पछिल्लो २४ घण्टामा १ लाख २ हजार १ सय ३६ बाट बढेर १ लाख १० हजार २ सय ३८ पुगेको छ । यो संक्रमण दर अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले बढी हो ।
केही दिनदेखि उकालो लागेको संक्रमण दर आउँदा दिनमा कम हुने अपेक्षा अधिकारीहरूले गरेका छन् ।
जोनहप्किन्स विश्वविद्यलयका अनुसार, अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच हजार तीन सय १६ पुगेको छ । अमेरिकाका दुई लाख २६ हजार मानिसका संक्रमण पुष्टि भइसकेको छ ।
फ्रान्समा कोरोनाको उद्गमस्थल चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार, हालसम्म फ्रान्सका ४ हजार ३२ कोरोना संक्रमितको मृत्यु भएको छ । चीनमा हालसम्म ३ हजार १ सय ९९ मानिसको कोरोनाबाट मृत्यु भएको छ ।
कोरोनाले विश्वका ९ लाख ८१ हजार मानिस संक्रमित भएकामा २ लाख ४ हजार मानिस निको भएर घर फर्किएका छन् ।