एजेन्सी, चैत्र १६ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसका कारण बेलायतले अझै खराब दिनको सामना गर्नू पर्ने हुन सक्ने भन्दै सबैले नियम अनुसार चल्न अपील गरेका छन् ।
आफै आईसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायतका सबै घरधनीलाई घरभित्रै रहन आग्रहसहितको पत्र पठाउँदै आवश्यक परे अझै कडा प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका छन् ।
देशले आज सम्म कहिल्यै नदेखेको खराबी आउन सक्ने भन्दै सचेत रहन र नियममा बस्न जनतालाई अपील गरेका छन् ।
बेलायतमा लक डाउनको पर्वाह नगरी मानिसहरु बढी घुमफिरमा निस्किरहे पछि प्रधानमन्त्रीको यस्तो चेतावनी आएको हो ।
सरकारी नियम र स्वास्थ्य सम्बन्धि जानकारी भएको पर्चा घर घरमा छाडिएको हो । पत्रमा कोरोना भाइरसबाट अहिलेसम्म बेलायतमा भएको मृतक र संक्रमितको संख्या पनि उल्लेख गरिएको छ ।
तीन करोड घर परिवारलाई पठाइएको पत्रमा जोन्सन लेख्छन्, ‘शुरुदेखि नै हामीले सही उपायहरु ठीक समयमा राख्न खोजेका छौं ।’ उनी भन्छन्, ‘यदि वैज्ञानिक र चिकित्सकीय सल्लाहले हामीलाई अझ अगाडी जान भन्छ भने त्यसो गर्न पनि हिच्किचाउदैनौं ।’
यो अवस्था सुध्रनु अगाडि नै स्थिति झन् खराब हुने भएकाले तपाईलाई अहिलेकै स्तरमा राख्नु महत्वपूर्ण रहेको पनि उनले भनेका छन् । सरकारले तयारी गरिरहेको भन्दै प्रधानमन्त्री जोन्सनले जति धेरै नियम पालना गर्दछौं त्यति नै कम जीवन गुमाउने पनि प्रष्ट गरेका छन् ।
बेलायतमा कोरोनाले १ हजार बढीको ज्यान लिएको छ भने १७ हजार बढी संक्रमित छन् ।