एजेन्सी, २ चैत। युरोपका सबैभन्दा ठूला मुलुकहरू फ्रान्स र स्पेनले कोरोनाभाइरसको फैलावट रोक्न आपतकालीन प्रतिबन्धको घोषणा गरेका छन् । ६ करोड ३५ लाख जनसंख्या रहेको फ्रान्समा अत्यावश्यक बाहेकका सबै सार्वजनिक स्थल बन्द गर्न आदेश दिइएको छ ।
विद्यालयहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । प्रधानमन्त्री एडुअर्ड फिलिपले फ्रान्समा कोरोना संक्रमितको संख्या बढिरहेको र जनताले सूचनाहरु बेवास्ता गरिरहेको बताए । उनले दुई शहरबीचको आवतजवात कम गर्न आग्रह गरे । फ्रान्समा कोरोना संक्रमितको संंख्या ४५ सय र मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
यस्तै ४ करोड ६७ लाख जनसंख्या रहेको स्पेनले पनि आपतकालीन अवस्थामा बाहेक भ्रमण गर्न तथा सार्वजनिक भेला गर्न रोक लगाएको छ । शैक्षिक संस्थाहरु बन्द छन् ।
इटाली पछि स्पेन युरोपमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुक हो । स्पेनमा १ सय ९१ जनाको मृत्यु भएको छ भने ६ हजार ४६ जना संक्रमित छन् । इटालीमा कोरोना भाइरसका कारण १४ सय ४० जनाको मृत्यु भएको छ भने मुलुकलाई नै क्वारेन्टाइनको अबस्थामा राखिएको छ ।
यता जर्मनीमा कोरोनाका कारण आठ जनाको मृत्यु र ३ हजार ७९५ जना संक्रमित भएको पुष्टि भएको छ ।बेलायतमा संक्रमण तीब्र रुपमा बढेको छ । त्यहांको मृत्यु हुनेको संख्या २१ पुगेको छ । वैज्ञानिकहरूले सरकारलाई पत्र लेखेर कोरोना नियन्त्रणका लागि थप कडा उपायहरू लागू गर्न आग्रह गरेका छन् ।
शुक्रवार मात्र विश्व स्वास्थ्य संगठनले युरोप कोरोना महामारीको केन्द्रबिन्दु बनेको बताएको थियो । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरसको परीक्षण नेगेभिट आएको ह्वाइट हाउसले जनाएको छ । अमेरिकाले अरु यूरोपेली मुलुक जस्तै बेलायतलाई पनि यात्रा प्रतिबन्धको सूचीमा राखेको छ ।