यूएई, २६ फागुन ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत २ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । युएइकाे त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार दुई नेपालीसहित थप १४ जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक छन् । योसँगै यूएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको गल्फ न्युजले उल्लेख गरेको छ।
यूएईमा हालसम्म ५ जना संक्रमित उपचारपछि निको भएर फर्किसकेको त्यहाँको मन्त्रालयले जनाएको छ। उपचार गरेर फर्केनहरुमा २ स्थानीय, २ इथोपियनर १ थाइल्यान्डका नागरिक छन्।
संक्रमितहरुको कडा स्वास्थ्य सुरक्षाकाबीच उच्च सतरकर्ता अपनाएर उपचार भइरहेको गल्फ न्युजले बताएको छ।
सोमबार नेपाली दूताबास भने बन्द थियो । त्यसैले कोरोनाबाट संक्रमित नेपालीबारे थप जानकारी प्राप्त भएको छैन ।
अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई संक्रमण
यस्तै अष्ट्रेलियाको तास्मानिया राज्यस्थित होबार्टमा पनि एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।उनलाई अस्पताल भर्ना गरिएको छ भने उनीसँग नजिकको सम्पर्कमा रहेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यसैबीच क्यानबेरास्थित नेपाली दूतावासले पनि विभिन्न स्थानमा रहेका नेपाली समुदायमा संयमित एवं सतर्क हुन अपिल जारी गरेको छ । दूतावासले भाइरसको संक्रमणबाट सुरक्षित रहन अष्ट्रेलिया सरकार र नेपाल सरकारले जारी गरेको सन्देश पालना गर्न सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ ।
उता, कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कतार नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक हो । तर उसले कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ ।
सरकारले नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएपछि नेपाली दूताबासले अत्यावश्यक बाहेक भेटघाट र भौतिक सम्पर्क नराख्न तथा इमेल वा टेलिफोनबाट सम्पर्क गर्न आग्रह गरेको छ ।
दूताबासबाट कुनै सेजाबारे जानकारी लिनु परे फोन वा इमेलबाट सम्पर्क गर्न भनेको छ । हालसम्म कतारमा १२ जनामा कोरोनाको लक्षण भेटिएको छ ।