एजेन्सी फागुण १२ । अमेरीका जाने सपना र रहर धेरै युवाहरुको हुन्छ । अझ अमेरीकाको ग्रिनकार्ड होल्डर भने पछि त शान नै बेग्लै जस्तो गर्छन् मान्छे ।
तर अब अमेरीकाले एशिया , अफ्रीका लगायतका मुलुकबाट गएका ग्रीनकार्ड होल्डर आप्रवासीका लागि सरकारी सुविधा बन्द गर्ने भएको छ ।
अमेरीकी नागरिक सरह पाउने सुविधामा कटौती भए पछि बंगलादेशी, पाकिस्तानी, भारतीय, नेपाली सहित आप्रवासीहरु थप समस्यामा पर्ने छन् । गत शुक्रबार अमेरीकाको सर्वोच्च अदालतले यस्तो सुविधामा रोक लगाउन आदेश दिएको थियो । आप्रवासीहरुका कारण अमेरीकीहरुमाथि समस्या बढ्न थालेको जस्ता बिषयलाई ध्यान दिएर सर्वोच्चले यस्तो आदेश दिएको ह्वाईट हाउसका प्रेस सेक्रेटरी स्टेफनी ग्रिसमले बताए । यस आदेशबाट परिश्रमी अमेरीकी करदाताको हित हुने दावी उनले गरे ।
चिकित्सा सेवा, खाद्यान्न सहित विभिन्न सुविधा ग्रीनकार्ड होल्डरलाई मिल्ने गरेको थियो । यसले अमेरीकामा बढ्दो आप्रवासी कम गर्ने, देशमा राख्न उपयुक्त नहुने नागरिकलाई रोक्ने र अमेरीकी बजेट घाटा कम गर्न मद्धत गर्ने अपेक्षा गरिएको छ ।
डोनाल्ड ट्रम्प आए पछि अमेरीकामा आप्रवासीमाथि कठोर नीति अपनाउन थालिएको छ ।