मंसिर ३०, डिसी ।
कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा अमेरिकाको ह्वाइट हाउसदेखि डिसीस्थित भारतीय राजदूतावाससम्म नेपालीहरुले प्रदर्शन गरेका छन् ।
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको अगाडितर्फ रहेको लाफाऐट पार्क वरिपरिको गोरेटोबाटो विरोध र्याली निकालेर डिसीको मुख्य शहर हुँदै भारतीय राजदूतावाससम्म पुगेर सम्पन्न भएको थियो ।
राष्ट्रिय पोशाकमा सजिएका र नेपालको राष्ट्रिय झण्डा बोकेका सहभागीहरुले विरोध जुलुसमा अंग्रेजी तथा नेपाली दुवै भाषामा नाराहरु लेखिएका प्रचार सामग्री प्रदर्शन गर्दै ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो’, ‘गो ब्याक इण्डिया’ भन्दै नारा लगाएका थिए ।
अमेरिकाको राजधानी वाशिंगटन डिसीको बीच सडकबाट भारत विरोधी नारासहित गरिएको प्रदर्शनले सबैको ध्यानाकर्षण गर्न सफल भएको बिरोध जुलुसका संयोजक तथा बानाका पूर्वअध्यक्ष कुलमणि आचार्यले बताए ।

कार्यक्रममा ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’ का अगुवाई गर्ने समाजसेवी तथा एएनएका पूर्वअध्यक्ष रोजर अधिकारी, एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी तथा सीमाविद बुद्धिनारायण श्रेष्ठले संक्षेपमा भारतले गरेको नेपाली भूमि अतिक्रमणको बारेमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा वरिष्ठ लोकगायक प्रेमराजा महतले देशभक्तिपूर्ण ओतप्रोत भएको गीत सुनाएका थिए भने लोकगायक रामप्रसाद खनालले भारतलाई व्यंग्य गर्ने कविता वाचन गरेका थिए ।
यसैगरी डिसी क्षेत्रका कलाकारद्वय खेम संग्रौला तथा श्याम सुन्दर आचार्यले ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ गीत प्रस्तुत गरेका थिए । महिलाहरुले पनि देशभक्तिपूर्ण कविता वाचन गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयका प्राकृतिक स्रोत व्यवस्थापनका पूर्व प्रा. डा. गोपी उप्रेतीले नेहरुको पालादेखि नै भारतले नेपाललाई नियतबस दुःख दिने गरेको र दशकौंदेखि नेपाली भूमि अतिक्रमण गरेको बताए ।