काठमाण्डौ, १३ साउन ।
गैरआवासीय नेपाली संघ एनआरएनएको ११ औं युरोप क्षेत्रीय बैठक र ९ औं युरोपीय क्षेत्रीय महिला बैठक आजबाट सुरु भएको छ ।
‘युरोपिय एनआरएनको प्रतिबद्धता– नेपालमा पर्यटक, ज्ञान सीप र लगानी’ भन्ने नाराका साथ लक्जम्बर्गस्थित हिल्टन होटलमा बैठक सुरु भएको हो ।
बैठकमा सहभागी हुन युरोप क्षेत्रका सबैजसो मुलुक र अन्य देशसहित गरेर करीब ५ सय नेपालीहरु भेला भएको एनआरएनएले जनाएको छ ।
बैठक नेपालमा पूँजी सहित ज्ञान, सीप र दक्षता भित्रयाउने र नेपालको पर्यटन प्रवद्र्धनमा केन्द्रित रहने एनआरएनएका प्रवक्ता भुुषण घिमिरेले बताउनुभयो ।
गैरआवासीय नेपाली दिवस २०१८ को अवसरमा आगामी अक्टोबर १३ र १४ मा काठमाडौंमा हुने विज्ञ सम्मेलनको तयारी स्वरुप बैठक आयोजना गरिएको एनआरएनएका अध्यक्ष भवन भट्टले बताउनुभयो ।
बैठकमा युरोपस्थित एनआरएनएका २७ देशका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधि, युरोप क्षेत्रका उपसंयोजक, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजक, आयोजक राष्ट्रका अध्यक्ष, महासचिव, लक्जम्बर्ग नजिकका मुलुकका अध्यक्षहरु कार्यक्रममा सहभागी रहेको एनआरएन युरोप क्षेत्रीय संयोजक शिव कुमार बरुवाले बताउनुभयो ।
क्षेत्रीय महिला बैठकमा एनआरएनएको महिला फोरमले युरोप क्षेत्रमा रहेका नेपाली महिलाहरुको समस्याका बारेमा छलफल गर्ने कार्यक्रम छ ।