काठमाडौँ, असार ४ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदका दुवै सदनलाई आफ्नो भोली देखि हुने चीन भ्रमणको बारे जानकारी गराउने तयारी गर्नु भएको छ ।
प्रधानमन्त्रीले आसन्न चीन भ्रमणबारे बक्तव्यका लागि समय माग्नु भएको संघीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले आज दुबै सदनमा छुट्टाछुट्टै रुपमा भ्रमणको जानकारी स्वरुप संबोधन गर्नु हुनेछ ।
राष्ट्रको प्रतिनिधित्व गरेर विदेशमा औपचारिक भ्रमण वा कार्यक्रममा जाँदा सदनलाई जानकारी दिने प्रचलन अनुसार प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।
संसद् अधिवेशन चलिरहेको अवस्थामा सरकारको सदनप्रतिको जवाफदेहीताका लागि भ्रमणबारे प्रधानमन्त्री वा मन्त्रीले जानकारी दिने प्रचलन छ ।
प्रधानमन्त्रीले प्रतिनिधि सभामा अपराह्न ४ बजे र राष्ट्रियसभामा दिउँसो २ बजे संबोधन गर्ने कार्यक्रम रहेको
संघीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसुचीबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी भने गराएको छैन । भ्रमणबारे प्रधानमन्त्री स्वयमले आज सदनबाटै औपचारिक कार्यसूची सार्वजनिक गर्ने जनाइएको छ ।
यसअघि भारत भ्रमणपछि प्रधानमन्त्रीले सदनलाई भ्रमणबारे जानकारी गराउनु भएको थियो भने भ्रमणमा जानुअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदलाई जानकारी दिनुभएको थियो ।