ईटहरी, २८ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी( नेकपा) की नेतृ वीरता क्षेत्री २९ दिनपछि रिहा हुनुभएको छ । हिरासत मुक्त हुनुभएको छ ।
वैशाख ३१ गते ईटहरीबाट दुई बर्षे छोरी सहित गिरफ्तारमा पर्नुभएकी नेकपा ईटहरी सेक्रेटरी वीरतालाई आज झापाको गौरिगन्जबाट रिहा गरिएको हो ।
यसअघि हिजो जिल्ला अदालत इनरुवाले रिहा गरेलगत्तै प्रहरीले पुनः अदालत परिसरबाटै पक्राउ गरि झापा लगेको थियो ।
वीरतासँग गिरफ्तार सर्वसाधारण नवराज ढकाल र निरज अधिकारी भने कारागार चलान भएका छन् ।
उता, इलाम कारागारबाट रिहा भएलगत्तै गिरफ्तार गरिएका सुनसरीका अन्य पाँच जनालाई संखुवासभामा राखिएको छ । आईतवार धरौटी बुझाएर कारागारबाट रिहा भएलगत्तै राष्टिय मानवअधिकार आयोगको क्षेत्रीय टोलीको अगाडिबाटै प्रहरीले सुरेश राई , सुरज राई, मोहन कार्की, लक्षमण कार्की र रोशन ढकाललाई गिरफ्तार गरेर संखुवासभा पुर्याएको हो ।
गत चैत ७ गते गिरफ्तार गरेर उनीहरूलाइ सुनसरी , झापा हुँदै इलाम पुर्याइएको थियो । अहिले संखुवासभामा राखिएको जनाईएको छ ।
केपि ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई निगरानी , धरपकट र गिरफ्तारी बढाएसँगै सबैभन्दा बढी पूर्वको सुनसरीबाट पक्राउ परेको जनाईएको छ
प्रदेश १ मा सबैभन्दा धेरै नेकपा नेता कार्यकर्ता सुनसरीबाट गिरफ्तारमा परेका छन् । हालसम्म ११ जना पक्राउ परेकोमा ३ जना रिहा भएका छन् भने ३ जना कारागार , ५ जना संखुवासभा, १ जना हिरासतमा छन् ।
नेकपा सुनसरीले भने आफ्ना गिरफ्तार नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ ।