पोखरा , २१ जेठ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय समाजवादी फोरमसँग पार्टी एकता हुने दाबी गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ ले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले प्रदेश नम्बर २ मा चलखेल गरेर केन्द्र सरकारलाई अस्थीर बनाउने कोशिस भएकाले संघीय समाजवादी फोरमलाई केन्द्र सरकारमा ल्याउनुपरेका बताउनु भयो ।
केन्द्र सरकारकै प्रभावमा प्रदेश दुईमा सरकार बन्ने बाटो खुलेको र फोरमसँग पार्टी एकता पनि हुने उहाँको दाबी छ ।
अध्यक्ष दाहालले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा कम्युनिस्टहरुकै मुख्य भूमिका रहेकाले प्रतिपक्षीले आरोप लगाएजस्तो सरकार तानाशाही बन्ने कुरा निराधार भएको पनि प्रष्ठ पार्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत ररहनुभएका प्रचण्डले नेपालमा कम्युनिस्टहरुकै कारण लोकतन्त्र र गणतन्त्र आएको भन्दै कम्युनिस्टहरु अटोक्रेसीतिर जान्छन् कि भन्ने आशंका निराधार र नेपालको ऐतिहासिक यथार्थसँग मेलै नखाने कुरा भएको बताउनु भयो ।
अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसको विकल्पबारे नेतृत्व तहमा छलफल भइरहेको भन्दै उहाँले कस्तो चुनाव प्रणालीले हामीलाई, हाम्रो लोकतन्त्रलाई सुदृढ गर्न सहयोग गर्छ भन्नेबारेमा गहन छलफल चलिरहेको बताउनु भयो ।
दुई तिहाईको सरकार गठनसँगै समृद्धि र विकासको नयाँ ढोका खुलेको उहाँले बताउनु भयो ।
आर्थिक वर्ष २०७५÷ ०७६ को बजेटको सत्तापक्षबाट समेत आलोचना भइरहेको बेला उहाँले आगामी दिन अझ सन्तुलित ढंगले अगाडि बढ्ने पाठ सिकेको बताउनु भयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत तीनै तहको सरकार बनेपछिको पहिलो बजेट भएकाले पनि केही प्रश्नहरु उठेको प्रचण्डको भनाई छ ।
विगतमा छिटो–छिटो सरकार परिवर्तन हुने भएकाले जनताको भोट तान्ने उद्देश्यले लोकप्रिय कार्यक्रम बजेटमा राख्ने गरिए पनि अहिले त्यस्तो नगरिएको प्रचण्डले स्पष्ट पर्नुभयो ।
उहाँले भन्नुभयो, ‘चुनाव जित्न जनतालाई भावनात्मक रुपले सन्देश दिने बाध्यता हामीलाई छैन । तैपनि यसको पक्ष विपक्षमा छलफलहरु, टिप्पणीहरु भएका छन् । त्यसले आउने दिनमा अझ सन्तुलित ढंगले अगाडि बढ्ने र गम्भीर ढंगले ध्यान दिने प्रक्रियामा हामी छौं ।
उहाँले पाँच वर्ष्भित्र मुलुकमा विकास नभए जनस्तरमा निराशा आउनेतर्फ सरकार सचेत रहेको पनि बताउनु भयो ।-एग्रोटाईम्स