काठमाडौं, जेठ १८ ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गर्नुभएको छ ।
प्रतिनीधि सभाको बैठकको सुरुमै धारण राख्दै उहाँले दुईतिहाइ बहुमतको सरकारले निर्वाचनका बेला घोषणापत्रमा बाँडिएको सपना बजेटसम्म आइपुग्दा मरेको भनी आलोचना गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ उद्धृत गर्दै सांसद भट्टराईले बजेट दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुुनुपर्ने तर सामान्य गाडी चलेजस्तो आएको भनी टिप्पणी गर्नुभयो ।
बजेटमा दृष्टिकोण र प्राथमिकता निर्धारण गर्न नसक्दा समस्या देखिएको उल्लेख गर्दै उहाँले वर्तमान परिवेशमा हिजोको ढाँचामा बजेट तय गर्नुपर्ने आवश्यकता नरहेको बताउनु भयो । आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि कृषि प्रधान अर्थतन्त्रलाई तीव्र आर्थिक वृद्धि गर्नुपर्ने अहिलेको प्राथमिकता हुनुपर्ने उहाँको धारणा थियो ।
समाजवाद उन्मुख अर्थतन्त्र आगामी यात्रा हुनुपर्ने धारणा व्यक्त गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका सांसद डा भट्टराईले पूर्वी र दक्षिण एशिया तथा भारतको आर्थिक विकासको मोडल नेपालका लागि उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।
विकासमा एक चौथाइमात्र खर्च गरेर दाहोरो अंकको आर्थिक वृद्धिदर हासिल हुन सक्दैन भन्दै उहाँले बजेटमा शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्न खोजिएजस्तो देखिएको र निजी क्षेत्रलाई भने प्रोत्साहन गर्न नसकेको भनी आलोचना गर्नुभयो ।