१७ जेठ,काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टीले राख्न खोजेको नाम नपाउने भएपछि नाम परिवर्तन गरेको छ ।
यसअघि तल धर्को तानेर नेपाल कम्युनिस्ट पार्टी नाम राखिएको थियो । सबैले अन्डरलाइन भनेर लेख्न थालेपछि अहिले कोष्टमा छोटकरी रुप (नेकपा) लेख्ने निर्णय गरेको हो ।
नयाँ पार्टी गठनको दुई सातामै नाम परिवर्तन गर्नुलाई उसको असफलतासँग जोड्न थालिएको छ । अहिले राखिएको नाम पनि निर्वाचन आयोगमा आर्को पार्टी दर्ता छ । छोटकरी रुप पनि उसैको रुप भएकोले त्यो नाम पाउने सम्भावना पनि कमै छ ।
संसदीय दलका उपनेता सुवास नेम्वाङले विभिन्न पक्षबाट आएका सुझावलाई ध्यान दिएर पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको संचारमाध्यमहरुलाई बताएका छन् । उनले दल दर्ताको लागि आयोगसँग निरन्तर छलफलमा गरिरहेको बताए ।
निर्वाचन आयोगमा दल दर्ताका लागि दलले नेम्बाङ र देव गुरुङलाई जिम्मा दिएको छ ।
यसअघि विप्लव र ऋषि कट्टेले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नाम राखेका छन् । कट्टेलको पार्टी निर्वाचन आयोगमा दर्ता छ ।