१२ जेठ, काठमाडौं ।
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यसत्ताको नीतिगत अराजकताका कारण जनता मारमा परेको बताउनु भएको छ ।
आज केहि सञ्चारकर्मीहरुसँगको भेटमा उहाँले सिटौलाले कम्युनिष्ट नेतृत्वको सरकारले भने नीतिगत अराजकताको संकेतहरु देखाएको बताउनु भयो ।
केन्द्र, प्रदेश र स्थानीय सरकारहरुले एउटै विषयमा फरक फरक निर्णय गर्दा नीतिगत अराजकता हुने भन्दै नेता सिटौलाले शिक्षामा यो देखिएको पनि प्रष्ठ पार्नुभयो ।
उहाँले चुनाव ताका सुरु भएको नेकपाका गतिविधि अझ बढेकोले सरकार यसतर्फ गम्भिर बन्नपर्ने बताउनु भयो ।
हालै प्रधानमन्त्रीसँग भएके भेटमा उहाँको पनि ध्यानाकर्षण गराएको उल्लेख गर्दैै कांग्रेस नेता सिटौलाले भन्नुभयो, विप्लव विद्रोहको राजनीतिक समाधान के हो ? प्रशासनिक समाधान के हो ? सरकारले समयमै ध्यान देओस् ।’
मुलुक अर्को द्वन्द्वमा पर्नसक्ने खतरा रहेको भन्दै उहाँले राजनीतिक रुपमा छलफल गरेर समाधान खोज्न सरकारलाई सुझाव दिनुभयो ।
शान्ति सम्झौता हुँदा विप्लवको समेत सहमति रहेको भन्दै सिटौलाले त्यसबाट विचलित नहुन नेकपालाई समेत आग्रह गर्नुभयो ।
उहाँले एमाले र माओवादी केन्द्रको एकता र वर्तमान सरकार सफल होस् भन्ने आफुहरुको चाहना रहेको भएपनि अहंकारको बाटो लिए सरकार आफैं पतन हुने चेतावनी दिनुभयो ।
प्रधानमन्त्रीले कांग्रेसलाई प्रतिस्पर्धी रहेन, सहयोेगी मात्र भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अहंकार आएको हो कि होइन व्यवहारले देखाउँछ । यदि चीनमा कम्युनिस्ट पार्टीले जस्तो हामीलाई सहयोगी मात्र भन्न खोजेको हो भने यो पतनको सुरुवात हुनेछ ।’
समृद्धि सबैको साझा लक्ष्य भएको भन्दै नेता सिटौलाले सरकारले लोकतन्त्रलाई छाडेर समाजवाद उन्मुख मात्र भन्नु संविधानको मर्त विपरित हुने बताउनु भयो ।