९ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले सभामुखलाई ‘सम्माननीय’ नभनेकोमा विपक्षी दलका नेता शेरबहादुर देउवाले व्यंग्य गर्दै आफुले सम्मानीय सभामुख भन्न चाहेको बताउनु भयो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले सुरुमै भन्नुभयो, ‘राष्ट्रपतिजीले सम्माननीय शब्द प्रयोग नगरेता पनि म सम्मानीय सभामुख भन्न चाहन्छु ।’
उहाँले यसो भन्दा कांग्रेसका सांसदहरुले टेबुलमा ढ्यापढ्याप पारेर समर्थन गरेका थिए ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख महोदय र राष्ट्रियसभाका अध्यक्ष महोदय भन्नुभएके थियो । तर, सम्माननीय भन्नुपर्ने भन्दै मिनेन्द्र रिजालसहित १७ सांसदले नीति तथा कार्यक्रमा संशोधन नै हालेका छन् ।
गणतन्त्र स्थापनापछि ‘सम्मानीय सभामुख महोदय’ भन्ने शैली र मर्यादा स्थापित भइरहेको भन्दै रिजालले भन्नुभयो, ‘त्यो मान्यताभन्दा बाहिर जाने अधिकार कसैलाई छैन ।’