भक्तपुर, ७ जेठ ।
गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य गरी जनताको राज स्थापना हुने बताउनुभएको छ ।
भक्तपुरमा आज आयोजना गरिएको शहीद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले देशभर देखिएको गुण्डाराज, अपराध, तस्करी, महिला हिंसा, भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय रहेको बताउनुभयो ।
देशमा रहेको सबै प्रकारको सिण्डिकेटको अन्त्य गर्दैसरकार विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको पनि उहाँले बताउनुभयो । मुलुक भ्रष्टाचार र तस्करीको कारण मुलुकको विकास अवरुद्ध भएको बताउँदै सरकार भ्रष्टाचार र तस्करीको अन्त्य गर्ने गृहमन्त्री थापाको भनाइ थियो ।
जनयुद्धका शहीद तथा बेपत्ताका परिवारलाई उचित सम्मान र सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री थापाले अहिलेको समाजवाद उन्मुख संघीय सरकार निर्माणमा शहीद र बेपत्ता योद्धाहरुको बलिदानबाट नै आजको उपलब्धि हासिल भएको दाबी गर्नुभयो ।
बेपत्ता नागरिक र शहीदले देखेको सपना अझै पूरा नभएकाले भन्दै शहीद र बेपत्ता परिवारको सपना साकार पार्न वर्तमान सरकार प्रतिबद्ध रहेको चर्चा गर्नुभयो । भक्तपुरमा प्राकृतिक स्रोतको दुरुपयोग गरी भूमि दोहन मौलाएको भन्दै अवैध बालुवा उत्खननलाई रोक्न उहाँले भक्तपुरको प्रहरी प्रशासनलाई निर्देशन दिनुभयो ।
जिल्लामा हप्ता असुली गर्दै आएका सबै गुण्डाहरुलाई समेत कारबाही गर्न गृहमन्त्री थापाले प्रशासनलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले वर्तमान सरकारले परिवार र शहीद परिवारका सम्मान गर्दै मुलुकलाई समृद्धितर्फ लानुपर्नेमा जोड दिनुभयो ।