काठमाडौ, ६ जेठ ।
पुनरगठित पार्टीको संरचनालाई पूर्णता दिन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शिर्ष नेताहरुले आन्तरिक छलफललाई तीव्रता दिएका छन् ।
एकिकृत पार्टीको स्थायी केन्द्रिय र जनवर्गीय संगठनलाई पूर्णता दिने सम्बन्धमा छलफलका गर्न पार्टीका शिर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
तत्कालिन नेकपा एमालेले आफ्नो भागमा परेको २ सय ४१ केन्द्रिय सदस्यको करिब टुङ्गो लगाएको जनाएपनि माओवादी केन्द्रका तर्फबाट केन्द्रिय सदस्य बन्नेहरुको नाम टुङ्गो लाग्न बाँकी छ ।
नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २ सय नेता रहनेछन् । माओवादीको केन्द्रीय सदस्य ४ हजार भन्दा बढी रहेकाले सदस्यहरुको नाम टुङ्गो लगाउन सकस परेको छ ।
तत्कालीन एमालेको केन्द्रीय कमिटी २ सय ६ केन्द्रिय सदस्यबाट २ सय जना सदस्य बन्ने निश्चित भएपनि बाँकी ४१ जनाका लागि १ सय भन्दा बढीले आकांक्ष देखाएका छन् ।
त्यसको टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई दिएको छ । माओवादी केन्द्रका तर्फबाट ८५ जनाको नाम टुङ्गो लगाइसकेको छ भने थप १ सय १५ जनाको नामबारे छलफल चलिरहेको छ ।
यद्यपी आज साझसम्ममा केन्द्रिय सदस्यको नामवली तयार हुने नेताहरुले बताएका छन् । केन्द्रीय सदस्य छानेपछि स्थायी कमिटीमा रहने १८ जनाको सूचीलाई अन्तिम रुप दिइने नेताहरुले बताएका छन् ।
यसअघि हिजो अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ ‘ र रामबहादुर थापा ‘बादल’बीच पाँच घन्टा छलफल भएको थियो । छलफलको क्रममा २३५ भन्दा बढी नेताको नाम आएको र, अझै थपिने क्रममा रहेको स्रोतको दाबी छ ।
अहिले कसलाई केन्द्रीय सदस्य बनाउने भन्ने निर्णय लिन कठिन भएको नेताहरुले बताएका छन् ।