काठमाण्डौ, ६ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले जेट विमानमा टेम्पोको इन्जिन राखेर घमण्ड नगर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गर्नुभएको छ ।
कांग्रेस सैनामैना नगर समिति रुपन्देहीले शनिबार आयोजना गरेको नगरसभाको उद्घाटन गर्दै थापाले आगामी निर्वाचनसम्ममा काङ्ग्रेसले १५ लाख मतदाता बढाउनुपर्ने तर्क गर्दै यसबीच आफूले ५० हजार मतदातालाई काङ्ग्रेस बनाउने दाबी गर्नुभयो ।
अंक गणितको धाक लगाउँदैमा कांग्रेस बिचलित नहुने भन्दै उहाँले प्रधानमन्त्री ओलीले कांग्रेसलाई होच्याउन समय खर्चेर अधिनायकवादी चरित्र प्रर्दशन गरिरहेको पनि आरोप लगाउनुभयो ।
ओलीलाई दुई तिहाईको अहंकार छाडेर जनताको पक्षमा काम गर्न सल्लाह पनि दिनुभयो ।
राणा, राजा र माओवादीको बन्दुकसँग लडेको काङ्ग्रेस एमाले र माओवादी मिलेर नेकपा बन्दैमा नआत्तिने उल्लेख गर्दै आफ्नो पार्टीको नेतृत्वमा जारी भएको संविधानको सफल कार्यान्वयन नै आफूहरूको प्राथमिकता भएको बताउनु भयो ।
उहाँले राणा शासन र राजासँग लड्दै र पराजित गर्दै आएको इतिहासलाई स्मरण गर्दै नेपाली कांग्रेसले नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टिलाई अर्को चुनावमा पराजित गर्ने दावी गर्नुभयो ।
थापाले एमाले र माओवादी केन्द्रको एकता गराउन बैठक बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले पदीय गरिमा र मर्यादाको अवमूल्यन गरेकोसमेत आरोप लगाउनुभयो । उहाँले राष्ट्रपति पदको मर्यादा र गरिमाको उच्च सम्मान र ख्याल गर्नसमेत आग्रह गर्नुभयो ।
नेता थापाले तत्काल महासमिति बैठक बसेर पार्टीका तल्लो तहसम्म पुनःसंरचना गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।