काठमाडौँ, ५ जेठ।
केपी प्रचण्ड नेतृत्वको पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली चयन हुनुभएको छ ।
अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा आज बिहान बसेको बैठकले ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको एमालेले जनाएको छ ।
पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो ।
उक्त पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एक दुई दिनमै लगाउने पनि जनाएको छ ।
धूम्रबाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनसङ्गठनका कार्यालय बनाउन सकिने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
चार सय ४१ सदस्यीय केन्द्रीय समितिका सदस्यमा नयाँलाई मनोनयन गर्न भने नीति र मापदण्ड बनाइने तथा त्यसको टुङ्गो एक दुई हप्तामा हुने जनाइएको छ ।
पैँतालीस सदस्यीय स्थायी कमिटी हुने नेकपामा पोलिटब्यूरो भने रहने छैन । नौ सदस्यीय सचिवालय भने गठन भइसकेको छ ।