काठमाडौं, १ जेठ ।
नेपाल कम्यनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवि ढकालले निःशुल्क शिक्षाका लागि बलिदान दिन तयार रहेको चेतावनी दिनुभएको छ ।
अखिल (क्रान्तिकारी)द्धारा आयोजित ५४औं विद्यार्थी दिवसको अवसरमा राजधानीमा आयोजित खुला विद्यार्थी सभालाई सम्बोधन गर्दै उहाँले नागरिकको निशुल्क शिक्षाका लागि जस्तोसुकै तहका आन्दोलन गर्न अखिल क्रान्तिकारी हमेसा तयार रहेको बताउनु भयो ।
‘दलाल सरकारको महंगो शिक्षा मान्दैनौं, जनतालाई निशुल्क शिक्षा दिलाउन हामी बलिदान दिन तयार छौं’ अध्यक्ष ढकालले भन्नुभयो, ‘चर्को शुल्क लिइरहेका विद्यालयहरु सूचीमा परेका छन् । छिट्टै जनताको साथ लिई कारवाही अगाडि बढाउँछौं । यसमा प्रशासनले सहयोग गर्नुपर्छ ।’
सरकारले शिक्षालाई निजी क्षेत्रको दलाली चक्रमा पारिदिएको भन्दै त्यसबाट मुक्त गर्न दलाल संसदीय व्यवस्थाबाट निकालेर वैज्ञानिक समाजवादी शासन व्यवस्थामा ल्याउनुको विकल्प नरहेको बताउनु भयो ।
उहाँले नेपालको अहिलेको शिक्षा कामदार उत्पादन गर्ने खालको भएको भन्दै यस्तो शिक्षा प्रणालिको अन्त्य गर्नुपर्ने बताउनु भयो ।