काठमाडौं, वैशाख २९ ।
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेश फर्किनुअघि आज महत्वपूर्ण राजनीतिक भेटघाट गर्नुभएको छ ।
बिहान मुक्तिनाथ र पशुपति मन्दिरमा पूजाअर्चना गरेर बौद्धस्थित हायात होटलमा पुगी विभिन्न दलका नेताहरुसँग एकान्त र सामूहिक वार्ता गर्नुभएको हो ।
मोदीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरमका संयोजक उपेन्द्र यादवसँग एक्लाएक्लै छलफल गर्नुभएको थियो ।
नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुसँग भने उहाँले सामूहिक भेटवार्ता गर्नुभएको हो । नेपालका राजनीतिक दलका नेताहरुसँगको भेटमा मोदीले आपसी हित र द्विपक्षीय सम्बन्धलाई थप उचाइमा र्पुयाउन आफ्नोतर्फबाट कुनै कञ्जुस्याईं नहुने बताउनुभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालको सचिवालयले भेटवार्ताको विषयमा केही खुलाएको छैन । नेपालस्थित भारतीय दूतावासले भेट दुई पक्षीय हित र सम्बन्धमा केन्द्रित भएको जनाएको छ ।
कांग्रेस पदाधिकारी र नेताहरुसँगको भेटमा मोदीले नेपाल र नेपाली जनताको प्रगति नै आफ्नो एकमात्र एजेण्डा भएको सुनाउनु भएको थियो ।
त्यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेताहरु कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, महामन्त्रीद्वय सशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र सह–महामन्त्री प्रकाशशरण महत लिएर हायात पुगेका कांग्रेस सभापति देउवाले नेपाल भ्रमण गरेकोमा मोदीलाई धन्यवाद दिंदै स्वागत गर्नुभएको थियो ।
भेटवार्तापछि जनकपुर–मुक्तिनाथ र पशुपतिनाथमा मोदीले गर्नुभएको पूजा अर्चनाले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विचार देउवाले भेटमा राख्नु भएको उपसभापति निधिले जानकारी दिनुभयो ।
जवाफमा भारतीय प्रधनमन्त्री मोदीले आगामी दिनमा भारतबाट नेपाल आउने पर्यटकको संख्या बढ्ने आशा व्यक्त गर्नुभएको थियो ।
सातवटै प्रदेशको चुनाव सकेर लोकतन्त्र संस्थागत गर्ने क्रममा नेपाल रहेको भन्दै मोदीले अब समृद्धिको बाटोमा अघि बढ्नुपर्ने सुझाउनु भएको नेता निधिले जानकारी दिनुभयो ।
उहाँले काठमाडौं र दिल्लीबाट उठेर दुई देशबीचको सम्बन्धलाई अन्य प्रदेशमा पनि बिस्तार गर्नुपर्ने बताउनुभएको निधिले उल्लेख गर्नुभयो ।
राजपा नेताहरुसँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले पछिल्लो चुनावमा प्राप्त विजयलाई लिएर बधाई दिनुभएको थियो ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवका अनुसार आपसी असमझदारी अन्त्य गर्दै दुई देशबीचको सम्बन्धलाई जनस्तरमा थप प्रगाढ बनाउने बारे भेटमा छलफल भएको थियो ।