काठमाण्डौ, २८ वैशाख । नेपालको दुई दिने भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली उस्तै भेषमा जानकी मन्दिर पुगेका छन् ।
घ्यू रंगको कुर्ता लगाएर जनकपुर पुगेका भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली पनि उस्तै कुर्ता, पाइजामा र सेतो गम्छामा जनकपुर पुगेका थिए ।
ओली र मोदी दुबैले घ्यू रंगको कुर्ता र सेतो पाइजामा लगाएका छन् । उनीहरुको एकै रंगको लुगा लगाइनुलाई पनि विशेष चासोका साथ हेरिएको छ । उनीहरुको एकै कलरको लुगा संयोग थियो वा उनीहरुको पूर्वयोजना भन्ने चाँही केही खुलेको छैन ।
प्रायः दुई देशका प्रधानमन्त्रीले एकै रंगको ड्रेस लगाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गम्छा भने फरक–फरक छ । तर, दुर्इ प्रधानमन्त्रीले लगाएको पोशाकमा गम्छा र जुत्ताको रंग मात्र फरक देखिन्थ्यो ।
मोदीलाई जनकपुर विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।
ओली र मोदी दुवैले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । दुवैले संयुक्त रूपमा रामायण सर्किटको पनि उद्घाटन गर्नेछन् ।
