काठमाण्डौ, २७ वैशाख ।
नेपाल कम्युनिष्ट पार्टीले सुरक्षा चुनौंतीको आवरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले कुटनैतिक सिद्धान्त उलंघन गरी नेपालको राष्ट्रिय सुरक्षा प्रणालीमाथि ठाडो हस्तक्षेप गरेको भन्दै गम्भिर आपत्ती जनाएको छ ।
सुरक्षा खतराको नाटक गरेर मोदीले आधुनिक सैन्य उपकरण सहित भारतीय सेना लाई जनकपुर, काठमाण्डौं र मुस्ताङ्गमा मार्च गराईराखेको भन्दै नेकपाले सैन्य हर्कतको घोर निन्दा र भत्र्सना गरेको छ ।
नेकपाका प्रवत्ता प्रकाण्डले विज्ञप्ती निकालेर भारतीय सैन्य फोर्स यथाशिघ्र फिर्ता गरी नेपाली सुरक्षा व्यवस्था कायम गर्न पनि ओली सरकारलाई आग्रह गर्नुभएको छ ।
मोदी सरकारको हर्कतले नेपालको सुरक्षा शक्ति र प्रणालीलाई नै चुनौंती दिनुका साथै देशको स्वाधिनता, सार्वभौमिकता र राष्ट्रिय सुरक्षामाथि गम्भिर खतरा निम्त्याएको उहाँले बताउनु भयो ।
बिज्ञप्तीमा भनिएको छ, देशको छातीमा भारतीय साम्राज्यवादी शासक र उसको सेनाले ताण्डव नृत्य चलाइरहदा प्रधानमन्त्री ओलीको कथित राष्ट्रवाद पाखण्डी र त्यो अहिले चिहानमा पुरिएको देखिन्छ । नत्र ओली सरकार किन चुइक्क बोल्दैनन् र सुतूरमुर्ग झै मोदीको पिछलगु भैराखेको छ ? यसर्थ मोदीको सैन्य हर्कतको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । भारतीय सैन्य फोर्स यथाशिघ्र फिर्ता गरी नेपाली सुरक्षा व्यवस्था कायम गर्न ओली सरकारलाई पार्टी आग्रह गर्दछ ।
नेपालको सार्वभौमिकता एवं स्वाधिनता र नेपाली जनताको स्वाभिमान एवं हित भारतीय शासक वर्गको हस्तक्षेपकारी चरित्र र नेपालका शासक वर्गको आत्मसमर्पणवादी, पाखण्डी, दलाली र नालायकीपनाका कारण सन् १९५० देखि पटक–पटक भारतीय शासक वर्गको अतिक्रमण र नेपालका शासक वर्गको राष्ट्रघात तथा जनघातको सिकार हुन पुगेको बताउनु भयो ।
प्रवत्ता प्रकाण्डले अहिले मोदी र ओलीको बीचमा हुने सहमती र संझौता इतिहासलाई उछिन्ने गरी राष्ट्रघाती र जनघाती हुने कुरामा दुई मत नभएको भन्दै यसको चौतर्फी निन्दा, विरोध, भण्डाफोर र संघर्षमा उत्रिन राष्ट्रप्रेमी, स्वाभिमानी र आफ्नो अधिकारका पक्षधर आम नेपाली जनतामा अपिल गर्नुभएको छ ।
सत्ता र कूर्सीको स्वार्थ केन्द्रीत भएर राष्ट्रिय स्वाधिनता र जनताको हित विपरित नेपाल भारतका शासक वर्ग बीच भएका सन्धी, सम्झांैताहरु जनताको संघर्षकै कारण कार्यन्वयनमा आउन नसकेको प्रष्ट पार्दै प्रकाण्डले सन् १९५० देखि अपर कर्णाली र अरुण तेश्रो सम्झौंता परियोजना कार्यन्वयन नहुनु त्यसको परिणाम भएको बताउनु भयो ।
अहिले आएर फेरी मोदी र ओलीले अरुण तेस्रोको संयुक्त उद्घाटन गर्ने रणनीति बनाएको भन्दै उहाँले त्यसको घोर विरोध गर्नुभएको छ ।
प्रधानमन्त्रीद्धय ओली र मोदीलाई नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको हित र नेपालको प्राकृतिक साधन श्रोतमाथि हस्तक्षेप, खेलवाड र आत्मसमर्पण नगर्न नेकपाले कडा चेतावनी पनि दिएको छ ।
प्रकाण्डले बल मिच्याई गरिए नेपाली जनतालाई पाच्य नहुने र त्यसको परिणाम गम्भिर हुने पनि चेतावनी दिनुभएको छ ।
यस्तै उहाँले गत वैशाख २० गते कंचनपुरको पूर्नवासमा भारतीय एसएसबीले नेपाली भूमिमा प्रवेश गरेरी जनतामाथि गरेको हस्तक्षेप र ४ जना युवा विद्यार्थीलाई गरेको गिरप्तारीको पनि बिरोध गर्नुभएको छ ।
यस्तै नेकपाले माओवादी कम्युनिस्ट पार्टीको नेतृत्वमा भारतीय श्रमजीवी जनताले विगत देखि संचालन गरिराखेको जनयुद्धका विरुद्ध मोदी सरकारले चलाएको अप्रेशन, हत्या, आतंक र दमनको पनि कडा विरोध गरेको छ ।
साथै भारतीय माओवादी र जनतामाथिको पासविक दमन तुरुन्त बन्द गर्न भारत सरकारसंग पनि जोडदार माग गरेको छ ।

