काठमाडौं २४ वैशाख, ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा कञ्चनपुरको पुनर्बासमा भारतीय पक्षबाट भएको सीमा अतिक्रमण र एसएसबीको ज्यादतीबारे कुरा राख्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरुले सीमा अतिक्रमण र भारतीय सुरक्षाकर्मीको ज्यादतीलाई दुई पक्षीय वार्ताको एजेण्डा बनाइनुपर्नेमा जोड दिए । पुनर्बासमा हुने पटक पटकको भारतीय ज्यादती अब दुई देशका प्रधानमन्त्री तहमा लैजानुपर्ने उनीहरुले बताएका छन ।
सांसद हरिराम चौधरीले भारतीय सुरक्षाकर्मीबाट पुनर्वासमा गरिएको ज्यादती निन्दनीय रहेकाले मोदीको नेपाल भ्रमणको बेला विशेष एजेण्डा बनाउनुपर्ने बताउनु भएको थियो । उहाले भारततिरबाट आएका जनावरले बालीनाली नष्ट गर्न थालेपछि नगरपालिकाले कारवाही गर्दा भारतीय सुरक्षाकर्मीले ज्यादती गरेको बताउनु भएको छ ।
कन्चनपुरबाटै प्रतिनिधित्व गर्ने सांसद इन्दु कडरियाले गत वर्ष यही समयमा भारतीय ज्यादती विरुद्ध लड्दा गोविन्द गौतमले शहादत प्राप्त गरेको स्मरण गर्दै अहिले सोही स्थानमा अतिक्रमण भएको जानकारी दिनुभएको छ ।
यस्तै सांसद अनिता देवकोटाले पुनर्बासको सीमा अतिक्रमण र भारतीय सुरक्षाकर्मीको ज्यादती सैहृय नहुने बताउनु भएको थियो । उहाले सरकारलाई राष्ट्रवादका कुरा होइन काम गरेर देखाउन चुनौती दिदै यो विषय भारतीय पक्षसमक्ष उठाइनुपर्ने बताउनु भएको छ ।