काठमाडौं २० वैशाख, ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कटौति भएका सार्वजनिक बिदा पुनरावलोकनको पहल गर्ने बताउनु भएको छ । उहाले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने बताउनु भएको छ ।
आदिवासी जनजाति महासंघका प्रतिनिधिहरुसँगको आजको भेटमा प्रचण्डले समुदायसँग छलफल नगरी विदा कटौती गर्दा समस्या आएको भन्दै पुनरावलोकनको पहल गर्ने बताउनु भएको हो । गत चैत १४ गते बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा कटौतीको निर्णय गरेको थियो ।
विदा पुनरावलोकनको पहल गरिदिन आग्रह गर्दै आदिवासी जनजाति नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुले सरकारले हटाएका सांस्कृतिक पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका थिए ।
जवाफमा प्रचण्डले आदिवासी जनजातिका मुद्दा माओवादी आन्दोलनसँग पनि जोडिएको बिषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने बताउनु भएको थियो ।
अध्यक्षले प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गरेर बिदाका बारेमा टुंगो लगाउने बताउनु भयो । उनीहरुले पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धी भएको भन्दै सरकारले कुनै सल्लाहबिना नै बिदा कटौति गरेको बताएका थिए ।
प्रचण्ड संगको भेटमा आदिवासी जनजातिका अगुवाहरुले आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निस्क्रिय बनाएको, गुम्वा विकासमा बजेट नदिएको दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामांकनमा पहिचान छुटाएको लगायतका गुनासा गरेका थिए ।