चितवन, वैशाख १२ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको केन्द्र भागमा रहेको चितवनमा प्रशस्त सम्भावना भएकोले केन्द्रीय तथा प्रदेश कार्यालयहरु रहने बताउनु भएको छ ।
प्रेस सेन्टर चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उहाँले प्रदेशका केही मन्त्रालय, राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय कार्यालय र प्रदेश प्रहरीको हेडक्वाटर चितवनमा राख्ने निर्णय भएको खुलासा गर्नुभयो ।
यी कार्यलयहरु राखिएपछि चितवनमा विकासको लहर आउने उहाँको दाबी छ ।
चितवनमा लगानी गर्नका लागि देशका उद्योगी र विदेशी लगानीकर्ताहरु इच्छुक रहेको भन्दै अध्यक्ष दाहालले चितवनमा विकासको गति अघि बढिसकेको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो ‘अहिले चीन पनि चितवनमा लगानी गर्न इच्छुक छ, मसँगको कुराकानीमा करिव २५ वटा उद्योग चितवनमै खोल्ने प्रतिवद्धता जनाएका छन् ।
नवलपुर, मकवानपुर, धादिङ र भारतलाई समेत समेटेर विकासको मोडेल तयार गर्नुपर्ने भन्दै उहाँले चितवनलाई केन्द्र बनाएर वृहत्तर रुपमा विकास गर्नुपर्ने बताउनु भयो ।
चितवनको विकासले देशव्यापी प्रभाव पार्ने भएकाले नयाँ मोडालिटीका आधारमा विकासको योजना ल्याउन लागिएको पनि उहाँले बताउनु भयो ।
बजेट तयारी, ऐन कानुन निर्माण र अध्यादेश टुंंग्याउने तयारीमा सरकार र पार्टी लागेको भन्दै नयाँ बजेटमार्फत जनताका सबै माग सम्बोधन हुने प्रचण्डले दाबी गर्नुभयो ।
उहाँले निर्वाचनमा स्थायित्व र विकासको नाराका कारण नै वाम गठबन्धनले बहुमत प्राप्त गरेकोले नयाँ सरकारको ध्यान त्यसैमा केन्द्रीत बनेको बताउनु भयो ।
अध्यक्ष प्रचण्डले सिंगो राष्ट्र विकासको अभियानमा जुटेको भन्दै कृषि र पर्यटनमार्फत देशलाई समृद्ध बनाउने बबबबताउनु भयो ।
अध्यक्ष दाहालले आफू प्रत्येक पटक चितवन आउँदा कुनै न कुनै ठाउँ जाने गरेको भन्दै रिल्याक्स गर्न नभई विकासको योजना बनाउन कुरामा केन्द्रीत बनेको सुनाउनु भयो ।
नयाँ बजेट अघि नै हुलाकी राजमार्ग, शारदानगर चनौली सडक र विभिन्न दश भित्री सडकहरुमा चालु बजेटबाट रकम निकासा गरिएको पनि उहाँले जानकारी दिनुभयो ।