काठमाडौँ, १५ पुस ।
नेपाली काग्रेसका नेताहरुले नीति सिद्धान्तवादी र कार्यक्रम यथार्थवादी बनाउन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
पूर्व सांसद मञ्च, नेपालले आज आयोजना गरेको विचार गोष्ठीमा काँग्रेसका नेता ओमकारप्रसाद श्रेष्ठले संगठन, कार्यशैली र विधानमा भएको त्रुटीलाई सच्याएर अघि बन्नुपर्नेमा जोड दिनुभयो ।
भर्खरै सम्पन्न निर्वाचनको समिक्षा गर्दै उहाँले हारेको मनोविज्ञान लिएर एक–अर्काेलाई आरोप र प्रत्यारोपमा उत्रनुभन्दा नीति सिद्धान्तवादी र कार्यक्रम यथार्थवादी बनाएर अघि बढ्नुपर्ने बताउनु भयो ।
मञ्चका महासचिव होमराज दाहालले नेपाली काँग्रेसको पुनर्जागरणको कार्य्दिशा विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाली काँग्रेसका आन्तरिक व्यवस्थामा भएको अव्यवस्था र अकर्मण्यता, विपक्षीको एकता र प्रहार एवं सरकार सञ्चालनबाट जनतामा देखिएको निराशा नै पराजयका प्रमुख कारण भएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो– पार्टी्भित्र मौलाउँदै गरेको गुटबन्दी, भागबण्डाको राजनीति, व्यक्तिवादी प्रवृत्तिको अन्त्य गर्दै निर्वाचनको निर्मम समीक्षासँगै लोकतान्त्रिक आचरण युक्त युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कार्ययोजना बनाउन आवश्यक छ ।
नेपाली काँग्रेसका पुराना नेता विपीन कोइरालाले काँग्रेसले विश्वव्यापी राष्ट्रियताको लहर थाहा पाउन नसक्नु नै निर्वाचनमा पराजयको प्रमुख कारण भएको बताउनु भयो ।
भारतका लागि पूर्व राजदूत एवं नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्यायले नेपाली काँग्रेसको लोकप्रिय मत धेरै नघटेको हुँदा अझै पनि पार्टीमा पुनःजागरण सम्भव रहेको धारणा राख्नुभयो ।
अर्का पूर्वसांसद तारणीदत्त चटौतले निर्वाचनमा काँग्रेसका धेरै उम्मेदवारको पराजय भए पनि दलले प्राप्त गरेको लोकप्रिय मतलाई विश्लेषण गर्दा आत्तिनुपर्ने अवस्था नरहेको टिप्पण्ी गर्नुभयो ।
नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले आठ वर्षको प्रवासपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको स्मरण गर्दै पूर्व सांसद मञ्चले नेपाली काँग्रेस पूर्व सांसदको भेला राखेको हो ।
उक्त भेलामा सहभागी नेताले तीन पुस्ते राजतन्त्रको शासनकालमा जेल नेल भोगेका नेताले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न, एउटै व्यक्ति छ पटकसम्म उम्मेदवार भै रहने प्रवृत्ति हटाउन सुझाव दिएका थिए ।