काठमाडौँ, ३ कात्तिक ।
लेबननका लागि नेपाली राजदूत झविन्द्रप्रसाद अर्यालले बुधबार लेवननी राष्ट्रपति जनरल मिचेस औनसामु आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएपछि राष्ट्रपति औनसँगको भेटवार्तामा राजदूत अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट लेबननी राष्ट्रपति र लेबननी जनताको सुख, सु–स्वास्थ्य र समृद्धिको कामना गरी पठाउनुभएको सन्देशबारे जानकारी दिनुभएको थियो ।
कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई मुलुकबीच सुमधुर सम्बन्ध रहँदै आएको बताउँदै उहाँले दुवै मुलुकले थुप्रै अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरुमा साझा धारणा अभिव्यक्त गर्दै आएको उल्लेख गर्नुभयो ।
राष्ट्रसंघ मातहत लेबननमा युनिफिलमा नेपाली शान्ति सेना तैनाथ रहँदै आएको र त्यहाँ नेपाली शान्ति सेनाको डफ्फासहित डेपुटी कमाण्डिङ अफिसर कार्यरत रहेको स्मरण गराउँदै उहाँले दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुत बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।
राष्ट्रपति औनले राजदूत अर्याललाई बधाई दिनुभयो र लेबननी सरकारको तर्फबाट उहाँको प्रयासमा पूर्ण साथ र सहयोग रहने वचनबद्धता प्रकट गर्नुभयो ।
बिहीबार लेबननी विदेश तथा आप्रवासन मन्त्रालयका राजनीतिक तथा वाणिज्य मामिलासम्बन्धी एशिया विभागका महानिर्देशक धादी जी एल खौर्भ तथा श्रम मन्त्रालयका महानिर्देशक जर्ज आयदासँगको भेटमा राजदूत अर्यालले दुई मुलुकबीच श्रम सम्झौता हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । यसो भएमा भविष्यमा रोजगारदाता कम्पनी र नेपाली कामदारको हितमा एक ठोस आधार तयार हुने उहाँको भनाइ थियो ।