अमेरिका/सुरेश कोइराला ।
बौद्धिक तथा प्रखर व्यक्तित्व समाजसेवी दुर्गाप्रसाद श्रेष्ठ अमेरिकाको मेरिल्याण्ड च्याप्टरमा सर्वसम्मतले अध्यक्ष पदका लागि चयन हुनु भएको छ ।
श्रेष्ठको प्रखर नेतृत्व, बौद्धिक क्षमताको कदर गर्दै एनआरएनए अमेरिकाको एक नम्बर च्याप्टरको रुपमा स्थापित मेरिल्याण्डका आम नेपालीले आगामी दुई वर्षको लागि आफ्ना अभिभावकका रुपमा छनोट गरेका हुन् ।
सफल व्यवसायीको रुपमा छुट्टै पहिचान बनाउन सफल उहाँले अब अमेरिकामा बस्दै आएका नेपालीको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने विश्वास मेरिल्याण्ड च्याप्टरले लिएको छ ।
मेरिल्याण्डमा आर्थिक विकासको क्षेत्रमा नेपालीलाई परिचालन तथा मार्गनिर्देश गर्न सक्ने व्यक्तिका रुपमा उहाँको पहिचान बनेको छ । उहाँ छोटो समयमै कुशल व्यवसायी बन्न सफल हुनु भएको छ । ‘आगामी दुई वर्षको लागि आउने नयाँ नेतृत्वले अमेरिकाकीे सिंगो नेपाली समाजलाई नवीन सोच, दीर्घकालीन योजना र कार्यकुशलताका साथ अघि बढउने सही व्यक्तित्वका रुपमा मलाई छार्नु भएको हो,’ श्रेष्ठले भन्नु भयो ‘म यहाँहरूको विश्वासलाई कहिले पनि ठेस लाग्न दिन्न ।’ मेरिल्याण्ड राज्यमा विभिन्न क्षेत्रबाट निखारिएका र हरेक क्षेत्रमा दख्खल भएका व्यक्तिहरूको गौरवशाली नेपाली समुदाय भएको उहाँले बताउनु भयो ।
‘यसमा हामीले गौरव मान्नु पर्दछ, कलाकार, साहित्यकार, डाक्टर, इन्जिनियर, प्रोफÞेसर, व्यापारी र समाजसेवी यी सातै विधामा प्रखर सप्तरंगी समाज भएको हाम्रो राज्यमा हामी सबै मिलेर समाज विकासको अभियान छुट्टै शिराबाट थाल्ने छौं ।’ मातृभूमि नेपालबाट आठ हजार माईल टाढा अमेरिकामा नेपालीहरू गैरआवासिय नेपालीको हैसियतमा रहेको उहाँले बताउनु भयो । समाजको अस्तित्व तथा विकास हामी आफैले थाल्नुको विकल्प नै छैन,’ उहाँले भन्नु भयो ‘यी सारा कुराहरूलाई मध्यनजर गर्दै समाजसेवाको अभियानमा अझै बढी सक्रिय हुने अठोट छ ।’ नेपालमा २१ वर्षको उमेरदेखि सामाजिक कार्यमा लागेका बताउने श्रेष्ठले विभिन्न संघ सस्थामा नेतृत्वदायी भुमिका निभाइ सक्नु भएको छ ।
पर्वतमा पर्वत जेसिजको स्थापना उहाँले गर्नु भएको हो । समाजसेवाकै दौरानमा उहाँले उक्त संस्था स्थापनामात्र गर्नु भएन सस्थापक अध्यक्ष भएर धेरै कुरा आफूले सिक्नु भयो भने आफूले सिकेका कुरा अरुलाई सिकाउन समेत उहाँ पछि पर्नु भएन । जेसिजको सिकाइ र भोगाइबाट उहाँलाई पर्वत उद्योग वाणिज्य संघको महासचिव, प्रथम उपाध्यक्ष हँुदै पहिलो कार्यकाल निर्विरोध अध्यक्ष भै काम गर्ने अवसर प्राप्त भएको थियो । दोस्रो कार्यकाल निर्वाचन प्रक्रियामा अत्यधिक मत प्राप्त भई उहाँले विजय प्राप्त गर्नु भयो । ‘समाजसेवा भावनकै कारण मलाई १९ वटा जिल्ला नगर उद्योग वाणिज्य संघको संरचना भएको पश्चिमाञ्चल क्षेत्रिय उद्योग वाणिज्यको अध्यक्ष पद्भार सम्हाल्ने मौका पनि प्राप्त भएको थियो,’ उहाँले भन्नु भयो ।
उहाँले नेपालको आर्थिक क्षेत्रको मेरुदण्ड उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा ३ कार्यकाल (करिब ९ वर्ष) केन्द्रीय सदस्य भै काम गर्ने मौका प्राप्त गर्नु भएको थियो । विभिन्न संघ सस्थामा काम गरेको लामो अनुभव, अमेरिको १० वर्षको भोगाइ, पर्वत समाज अमेरिकाको स्थापना गरी त्यस्को संस्थापक अध्यक्षभै काम गर्दाको अनुभव, यी सबै कुराको सिकाइ र भोगाइबाट मेरिल्यान्डमा केही गर्न सक्ने हैसियत आफूले बनाएको उहाँले बताउनु भयो । ‘मलाई विश्वास छ, मैले सधै यसरी नै यहाँहरूको साथ, सहयोग र समर्थन पाउने छु,’ उहाँले भन्नु भयो ।