सुरेश कोइराला/युएसए ।
कास्केली समाजले आगामी जुलाई २५ मा समर पिकनिकको आयोजना गर्ने भएको छ । नेपाली कला संस्कृतिको पहिचान सहित पारिवारिक एकतालाई समेट्ने उद्देश्यले पिकनिकको आयोजना गरिएको कास्केली समाजका अध्यक्ष कुल गुरुङले बताउनु भयो ।
संस्थाले नेपाल र नेपालीहरू कला र संस्कृतिको पहिचान गराउने उद्देश्यले हरेक वर्ष समरमा पिकनिकको आयोजना गर्दै आएको छ । कास्केली समाज कास्कीमा जन्मिएर बाल्टिमोडलाई आफ्नो कर्मभूमी बनाएका नेपालीहरूको साझा संस्था हो । सन् २००६ मा स्थापना भएको उक्त संस्थाले कास्की जिल्लाबाट अमेरिका आउने नवआगन्तुक नेपालीको स्वागत, उनीहरूको काम र आवासको व्यवस्था गर्दै आएको छ ।
उक्त संस्थामा साढे तीन सय कास्केली नेपालीको सहभागिता रहेको छ । समस्यामा परेका नेपालीको समस्या समाधान गर्न उक्त संस्थाको विशेष भुमिका रहँदै आएको छ । कास्केली समाजले बाल्टिमोडमा आउने प्रतिष्ठित नेपालीहरूको स्वागत तथा उनीहरूसँग अन्तरक्रिया गराउँदै आएको छ ।
अमेरिकामा नेपालीको अस्तित्व छ भनेर पहिचान गराउने लक्ष्यका साथ पिकनिको आयोजना गरिएको संस्थाका अपाध्यक्ष भरत बरायलीले बताउनु भयो । गएको वर्षदेखि संस्थाले नेपालीले मनाउने विभिन्न चाडपर्व, रितिरिवाजको पनि प्रस्तुती गर्ने गरेको उहाँले जानकारी गराउनु भयो ।
नेपाली काँग्रेस भात्रृ संगठन जनसम्पर्क समितिका पूर्व केन्द्रीय समस्य, मेरिल्याण्ड च्याप्टरका पूर्व सभापति, कास्केली समाजमा बरिष्ठ सल्लाहकार एवम् समाजसेवी रामचन्द्र अधिकारीले नेपालीहरू जहाँ रहेपनि आफ्नो कला र संस्कृतिको जर्गेना गर्दै आएको बताउनु भयो । नेपाल र नेपालीको अस्तित्व संसारभरि फैलाउन र भावी पिंढीलाई समेत यसको वारेमा ज्ञान दिलाएर कला संस्कृतिलाई निरन्तरता दिन नेपालीहरू कहिले नचुक्ने उहाँले बताउनु भयो ।