काठमाडौ ६ कार्तिक ।
अष्ट्रेलियाको पश्चिम शहर पर्थमा उच्च शिक्षा अध्ययनका लागि गएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं नरदेवी घर भएका विराटमान ताम्राकार रहेका छन् ।
गत बिहीबार विहान काममा जाने क्रममा सडकमा बेहोस भएर ढलेका ताम्राकारको उपचारका क्रममा मृत्यु भएको हो । उनी पर्थस्थित इडिथ कोवान युनिभर्सिटीमा इन्जिनियरिङ बिषय अध्ययन गर्न करिब डेढ बर्षअघि अष्ट्रेलिया गएका थिए ।
चिकित्सकहरुले उनको मृत्यु हार्टअर्टयाक अथवा ब्रेन ह्यामरेजका कारण भएको हुनसक्ने अनुमान गरेपनि पोष्टमार्टमको रिपोर्ट आउन भने बाँकी रहेको बताइएको छ । परिवारका एक्ला छोरा ताम्राकार आफ्नो अध्ययनको अन्तिम बर्षमा थिए ।
उनको शवलाई परिवारको आग्रह अनुसार नेपाल ल्याउने तयारी थालिएको पर्थस्थित नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलियाका सदस्य कमल सिलवालले जानकारी दिनुभयो ।