न्युयाेर्क।
अमेरिकाको कनेक्टिकट राज्यका नेपालीहरूले विबिध कार्यक्रमहरूका साथ २६४० औं बुद्ध जयन्ती मनाएका छ्न्।
एन आर एन कनेक्टिकट च्याप्टरका अध्यक्ष राम ओझाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोह नेप्लीज् एसोसिएशन अफ कनेक्टिकटको आयोजनामा भएको थियो । स्थानीय औतारी लामा, टुल्कु ङावाङ तम्छेन् ज्यूबाट बिधिवत रुपमा सांग सेरकेम् पुजा सहित समारोहको शुरुआत भएको थियो। औतारी गुरुले उपस्थित सबैलाई सामूहिक रुपमा शाक्यमुनि बुद्ध मंत्र उच्चारण गराएका थिए । समारोहको बीचमा ध्यान प्रशिक्षक अर्जुन सापकोटाबाट सरल ध्यान विधिको तालिम दिईएको थियो भने उर्गेन शेर्पाले प्रवचन दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राम ओझा, विशेष अतिथि प्राध्यापक विध्या रंजितले बुद्ध जयन्तीका बारे प्रकाश पारेका थिए । उपस्थित सबैले लामबद्ध भएर बुद्ध प्रतिमामा पुष्पार्पण गरेका थिए। साथै क्लेश निवारणका लागि बुद्धकायमा जलस्नान गराई समापन गरिएको थियो।
जेन बौद्ध परम्पराका भिक्षु भिक्षुणीहरूले उपस्थित जन प्रति स्वागत अभिवादन गरेका थिए । शेर्पा किदूगका अध्यक्ष दावा जाङ्बु शेर्पा सहित न्यूयोर्कबाट आएका शेर्पाहरूको टोलीले विशेष उपस्थिति जनाएका थिए ।
आयोजक संस्थाका पूर्व अध्यक्ष घनश्याम खड़का लगायत भू.पु. तथा वर्तमान पदाधिकारी तथा सदस्यहरू संग उत्साहित जनसमुदायको बृहद उपस्थितिले आयोजकहरूको कार्यक्रम पूर्ण रूपमा सफल देखिन्थियो ।
कार्यक्रमको अन्तमा स्वादिलो शाकाहारी भोजनको ब्यवस्था समेत गरिएको थियो। नेकोंनका अध्यक्ष शंकरप्रसाद ढकालको सभापतित्वमा भएको उक्त कार्यक्रम सोही संस्थाका सचिव नारायण प्रसाद पौड़ेलले संचालन गरेका थिए भने समारोहका संयोजक रोमी योन्जनले स्वागत मन्तब्य राखेका थिए।