विगतझैं यस पटकको ल्हाप्सोमा पनि धार्मिक पूजापाठसँगै शेर्पा किदुगका लामा गुरुहरुले शाक्य ट्रिजेन रिम्पोचेको उपस्थितिमा परम्परागत धार्मिक नृत्य प्रस्तुत गरेका थिए । सहभागीहरुले यस पटक रिम्पोचेको दर्शनसमेत गरेका थिए ।तिब्बतीयन बौध्द धर्म आध्यात्मिक तहगत प्रणाली अनुसार उहाँलाई धर्म गुरु दलाई लामा पछिको स्थानमा लिईन्छ ।
उहाँले सन् २००१ मा न्युयोर्कको अपस्टेट वाल्देनमा छेचेन कुन्छब लिङ गुम्बा स्थापना गर्नु भएको थियो ।
शेर्पा किदुग अमेरिकाले करिब डेढ दशकदेखि न्यूयोर्कमा आयोजना गर्दै आएको ल्हाप्सु यसअघि ल्होसारको अवसर पारेर हिउँदमा मनाउँदै आएका थिए । तर, यस पटकदेखि हिउँद सकेलगत्तै न्यानो याममा मनाएकाले विगतको तुलनामा उपस्थिति बढेको ल्हाप्सु आयोजक समितिका सदस्यहरू बताउँछन् ।
विगतको चिसो मौसममा आयोजक र सहभागीहरु सबैलाई कठिनाइ हुन थालेपछि यो वर्षदेखि सहभागिता बढेको हो’, ल्हाप्सु आयोजक समितिका सदस्य जाङ्बु शेर्पाले भने– ‘राम्रो मौसमका साथै रिम्पोचेको दर्शन पनि भएकाले यसपटक ल्हाप्सुमा दुई हजार जनाको उपस्थिति रह्यो ।’ उनका अनुसार ल्हाप्सुबाट बचेको रकम समितिले शेर्पा किदुगले भविष्यमा बनाउन लागेको ल्हाप्सो गर्ने स्थान वा शेर्पा बस्ती निर्माण अभियानका लागि दिइनेछ ।
ल्हाप्सोमा धार्मिक नृत्य सकेलगत्तै सबै जना गोलोकार उभिएर उपस्थित सबैले हातमा राखेको पिठो आकाशमा छर्केर देवीदेवताको जयजयकार गर्दै विश्व शान्ति र सम्पूर्ण प्राणीको कल्याणको कामना गरेका थिए ।
ल्हाप्सोमा शेर्पा समुदायका साथै अन्य विभिन्न समुदाय र धर्ममा आस्था राख्नेहरुको उपस्थिति थियो । ल्हाप्सुमा अधिकांश शेर्पाहरुले आफ्नो मौलिक पोशाक पहिरिएका थिए ।